अत्तरिया - कैलालीको अत्तरियामा रहेको निजि क्षेत्रवाट संचालित पदमा अस्पतालमा भएको तोडफोडवाट करिब ८० लाखको क्षति भएको छ ।
शुक्रवार राति उपचारका लागि अस्पतालमा पुगेका गोदावरी नगरपालिका वडा नं ३ का बिनोद कुमार बोहरा उपचारकै क्रममा शनिवार बिहान मृत्युपछि आक्रोशित बनेका मृतका आफन्तहरुले अस्पताल सहित अस्पतालका सवारी साधनहरुमा तोडफोड गरेका थिए ।
शनिवार बिहानै निकै तनाबग्रस्त बनेको अस्पताल परिरमा रहेका सवारी साधनहरुका साथै इमरजेन्सीमा रहेका उपकरणहरुमाथि तोडफोड हुनुका साथै अस्पतालको भवनमा अगाडी भागमा लगाईएको सिसाहरु सबै फुटेर टुक्रा टुक्रा पारिएको छ ।
अस्पतालका डाक्टरहरुको लापरबाहीका कारण बोहराको मृत्यु भएको भन्दै उनका आफन्तले बिहानै देखि अत्तरियामा प्रदर्सन गर्नुका साथै केही समय सवारी साधनहरु समेत ठप्प पारेका थिए । शनिवार बिहानभरि अस्पतालको भवनमा ढुङ्गा प्रहार गरिएको थियो ।
जसवाट अस्पतालले लाखौको क्षति ब्यहोर्नुपरेको छ । पदमा अस्पताल प्रा.लीका प्रबन्ध निर्देशक डा. नर बहादुर मौनीले तोडफोडवाट करिब ८० लाख बराबरको क्षति भएको बताए । उनले केही समय अगाडी मात्रै अस्पतालको भवनलाई नयाँ बनाएपनि अहिले अस्तब्यस्त बनेको बताए ।
यस्तै उनले आफु चढ्ने गाडी देखी अस्पतालको एम्बुलेन्समा समेत क्षति पुगेको बताएका छन् । हिजो दिनभर पडित पक्ष र अस्पताल प्रशासन बिच ईलाका प्रहरी कार्यालयमा छलफल गर्दै दुबै पक्ष बिच सहमति भएर आफन्तले शब बुझेका थिए ।
उनले घटनाको वास्तविक सत्य तथ्य पत्ता लगाउन एक समिति गठन गर्ने र पिडित परिवारलाई क्षतिपूर्ति नगद दिने सहमति भएको बताए ।
सहमतिपछि अस्पतालले आफ्नो सेवा सुचारु गरेको छ । शनिवार साझँवाटै नियमित सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।