काठमान्डौ -भारत भ्रमणका रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीच रहेका सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्रीसँग अनुरोध गरेका छन्। दुवै प्रधानमन्त्रीद्वारा आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले स्थापित संयन्त्रबाट उक्त समस्या समाधान गर्न मोदीलाई आग्रह गरिएको जनकारी दिए।
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले दिल्लीमा शनिवार भेटवार्ता गरेपछि दुवैजनाले संयुक्त रूपमा प्रेस सम्मेलन गरेका थिए।भारतीय प्रधानमन्त्री मोदीले सीमाको विवादको बारेमा कुनै धारणा नराखे पनि अवाञ्छित तत्त्वले नेपाल भारत सीमाको दुरुपयोग नगरुन् भन्नेबारे छलफल भएको बताए।
त्यसका लागि दुवै देशले प्रतिरक्षा र सुरक्षामा गहन सहयोग कायम गर्ने विषयमा जोड दिएको उनले जानकारी दिए।उनले भारतले नेपाललाई सुख दुखको साथीका रूपमा हेरेको भन्दै नेपालप्रति आफ्नो मुलुकले सधैँ आत्मीयता प्रेरित भावना राख्ने बताए।
उनले नेपालसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयलाई दुवै देशले उच्च प्राथमिकता दिने समझदारी गरेको भन्दै संयुक्त भिजन स्टेटमेन्ट ल्याउने सहमति भएको बताए।लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम तेज गतिमा अघि बढ्ने भन्दै उनले उक्त परियोजनाले दुई देशको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्ने बताए।
नेपालसँग विद्युत् आयात गर्ने कैयौँ अरू प्रस्तावलाई स्वीकृत गर्न लागिएको उनले जानकारी दिए।नेपाली पक्षसँग जलविद्युत् क्षेत्रमा भारतीय कम्पनीहरूको भागिदारी बढाउने विषयमा पनि छलफल भएको भन्दै मोदीले नेपालले सौर्य ऊर्जासम्बन्धी अलायन्समा जोडिने गरी एउटा सम्झौतामा हस्ताक्षर गरेकोमा प्रसन्नता जनाए।
दुवै प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका अधिकारीहरूले रेलवेका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने, पेट्रोलियम पदार्थको आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल निगमबीचको प्राविधिक सहकार्य अभिवृद्धि गर्ने विषयका सम्झौतामा हस्ताक्षर गरिएका थिए।दुई देशबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ।
दुवैजनाले संयुक्त रूपमा अन्तरदेशीय जयनगर-कुर्था रेल सेवा उद्घाटन भर्च्युअल माध्यमबाट गरेका थिए।कार्यक्रममा नेपाल र भारतबीच भएका विकास आयोजनाहरूबारे चर्चा गरिएको थियो।त्यससँगै पूर्वधार तयार भएर पनि सञ्चालन नभइ बसेको उक्त रेलले सेवा उपलब्ध गराउन थालेको बताइएको छ।
पाँचौ पटक प्रधानमन्त्री चुनिएपछि जलवायु परिवर्तन सम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ग्लास्गो गएको बेला देउवा र मोदीबीच गएको नोभेम्बरमा भेटवार्ता भएको थियो। बिबिसी