अत्तरिया - कुनै बेला स्थानीय सानो बजारका रुपमा रहेको अत्तरिया पछिल्लो समय बदलिएर ठूलो सहर बनेको छ । कर्कटपाताका छाप्रे होटेल तथा दैनिक उपभोग्य सामानका लागि थोरै पसल रहेको अत्तरिया बदलिएर ठूल्ठूला होटेल तथा होलसेल पसल, उद्योगहरु एकपछि अर्को गर्दै खुल्न थालेका छन् ।
साना एक तले घर पनि अहिले गगनचुम्बी महलमा उठेका छन् । पछिल्लो समयमा धमाधम नयाँ घर थपिने क्रम पनि बढ्दै गएको छ । तसर्थ त अत्तरिया बजार अब बजारमा सीमित नभई ठूलो सहरमा परिणत भएको छ ।
थोरै पसल र कम जनघनत्व भएको अत्तरियामा पछिल्ला तीन वर्ष यता सोचेभन्दा बढी व्यापारिक प्रतिष्ठान, कलकारखाना, होटेल तथा पसलहरु एकपछि अर्को गर्दै खुल्न थालेको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बताए ।
उनले भने,‘सुदूरपश्चिम प्रदेशको राजधानी घोषणा भएपछि भने अत्तरिया क्षेत्रमा व्यापारिक प्रतिष्ठान तथा होटेल, कलकारखाना र पसलहरु खुल्न थालेका छन्।’ सुरु–सुरुमा साढे ३ सय पसल दर्ता भएको अत्तरिया उद्योग वाणिज्य संघमा भने पछिल्लो तीन वर्ष यता भने करिब १२ सय पसल, होटेलहरु दर्ता भएको उनले बताए।
‘पहिले अत्तरियामा त्यति पसलहरु थिएनन् र त अत्तरिया उद्योग वाणिज्य संघमा दर्ता हुने व्यापारिक प्रतिष्ठानहरु नै दर्ता थिएनन्,’ उनले भने,‘पछिल्लो समयमा भने एकाएक बढेर १२ सय बढी व्यवसायीले आफ्नो व्यापारिक फर्म दर्ता गराएका छन्। जसबाट पनि के पुष्टि हुन्छ भने अत्तरियामा बजारीकरण बढेको छ।’
पहिले दुई वटा गाविस जोडिएको अत्तरिया बजार पछिल्लो समयमा स्थानीय तहको निर्वाचनमा गोदावरी नगरपालिका बनेपछि अत्तरियाको भौतिक विकासमा फड्को मारेको बताउँदै उनले भने,‘नगरपालिका भएपछि केही परिवर्तन भए पनि २०७५ असोज १२ गतेका दिन सुदूरपश्चिम प्रदेश सभाले गोदावरी नगरपालिकाको तेघरीमा राजधानी घोषणा गरे पछि भने अत्तरियामा सहरीकरण फष्टाएको हो।’
थोरै मात्र होटेल व्यवसाय भएको अत्तरियामा पछिल्लो दुई वर्षको अन्तरालमा मात्रै ३ सय बढी होटेलहरु थपिएको गोदावरी होटेल व्यवसायी संघकी अध्यक्ष धना चोखालले बताइन्।
उनले भनिन्,‘छाना छाप्रे होटेलहरु रहेको अत्तरियामा पछिल्लो समयमा ठूला सुविधा सम्पन्न होटेलहरु थपिने क्रम बढेका छन्।’ प्रदेशको राजधानी घोषणा भएपछि भने अत्तरिया क्षेत्रमा सुविधा सम्पन्न होटेल व्यवसाय थपिन थालेको उनले बताइन्।
‘यहाँ ठूला सेमिनार गर्ने खालका हलसहितका सुविधा सम्पन्न होटेलहरु खुलिसकेका छन्,’ उनले भनिन्,‘पहिले अत्तरियामा ठूला होटेलहरु नभएका कारण संघसंस्था तथा सरकारी निकायले कार्यक्रम गर्दा धनगढीका होटेलमा जानुपर्ने बाध्यता थियो, तर पछिल्लो समयमा यही ठूला होटेल तथा कटेजहरु एकपछि अर्को गर्दै खुलिसकेका छन्।’
अत्तरिया बजार आसपासका ग्रामीण क्षेत्रमा पुराना कच्ची घर भएकाहरुले पनि बसोबासका लागि पक्की घर निर्माण गर्ने तथा गाउँको जग्गा जमिन बेचेर अत्तरिया बजार क्षेत्रमा भवन निर्माण गर्ने क्रम पनि बढेको स्थानीय कैलाश जोशी बताउँछन्।
अत्तरिया क्षेत्रमा सहरीकरण बढ्न थालेपछि यहाँ अहिले जग्गाका कारोबार पनि बढेको उनी बताउँछन्। ‘कुनै बेला अत्तरिया बजार क्षेत्रमा मात्रै ५०÷६० लाख रुपैयाँमा पाइने घडेरी अहिले डेढ करोड बढीमा किनबेच भइरहेको छ,’ उनले भने,‘यो सब बढ्दो सहरीकरणका कारणले हो।’ अत्तरियामा व्यापार व्यवसायका लागि पसल तथा होटेल मात्रै नभई त्यत्तिकै मात्रामा अस्पताल तथा मेडिकलहरु पनि खुल्ने क्रम बढेको छ।
बढी जनघनत्व भएको र ७ पहाडी जिल्ला तथा कञ्चनपुर जाने मुख्य ढोका अत्तरिया भएकै कारण यहाँ निजी लगानीमा ठूला अस्पतालहरु पनि खुल्ने क्रम बढेको स्थानीय बताउँछन् ।
अत्तरिया क्षेत्रमा मात्रै धमाधम नयाँ घर तथा भवन निर्माण भइरहेको गोदावरी नगरपालिकाको तथ्याङ्कले पनि देखाएको छ। आर्थिक वर्ष २०७७÷०७८ मा गोदावरी नगरपालिकामा १ सय ८ वटा नयाँ घरका नक्सा पास भएका छन् भने चालू आर्थिक वर्षको फागुनसम्ममा ९२ वटा नयाँ घर थपिएका छन्।
गोदावरी नगरपालिका भवन तथा वस्ती विकास शाखाका सव इञ्जिनियर नरेन्द्र शाहीका अनुसार पछिल्लो समयमा अत्तरियामा व्यापार व्यवसायका लागि मात्रै नभई बसोबासका लागि पनि नयाँ घर निर्माणका कार्यहरु दैनिक बढ्दै गएका छन् ।
‘अत्तरिया क्षेत्रमा व्यापारिक प्रयोजनका लागि नयाँ भवन निर्माण तीव्र गतिमा भइरहेका छन्, भने आवास तथा बसोबासका लागि ग्रामीण क्षेत्रमा पनि उत्तिकै मात्रामा नयाँ घर तथा भवन निर्माणका कार्य भइरहेको छन्,’ शाहीले भने,‘यसबाट पनि के पुष्टि हुन्छ भने अत्तरिया क्षेत्रमा पछिल्लो समय सहरीकरण बढ्दै गएको छ।