अत्तरिया - सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबद्धनका लागि धनगढीमा फारवेष्ट ट्राभल मार्ट–२०२२’ को आयोजना हुने भएको छ । ‘देवभूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाउँ’ भन्ने मूल नाराका साथ यही चैत २५ गते देखि २७ गते सम्म तिन दिन ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको हो ।
नेपाल पर्यटन बोर्ड, धनगढी उपमहानगरपालिका र नाटा सुदूरपश्चिम प्रदेशको सहकार्यमा आयोजना हुन लागेको उक्त मार्ट मार्फत सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थललाई देश तथा विदेशका सम्भावित बजारमा चिनाउने र पर्यटकीय गतिविधिहरुलाई ग्रामीण स्तरसम्म पुञ्याउने उद्देश्य रहेको फारवेष्ट ट्राभल मार्ट–२०२२ का संयोजक मायाप्रकाश भट्टले जानकारी दिए ।
उनले यसका लागि आवश्यक तयारीलाई तिब्र पारिएको बताए । यसका लागि विभिन्न समितिहरु समेत गठन गरिएको छ । जसमा अनुगमन, मूल्याङ्कन र प्रतिवेदन समितिको संयोजक डा. हेमराज पन्त, सचिवालय व्यवस्थापन संयोजक कलम बम, समारोह स्थल व्यवस्थापन संयोजक पदमविक्रम सिंह, अतिथी सत्कार संयोजक जगदीशचन्द भट्ट, अतिथी आमन्त्रण संयोजकमा परमानन्द भण्डारी, सांस्कृतिक समितिको संयोजक पुष्करराज भट्ट, प्रचार–प्रसार संयोजकमा पर्यटन पत्रकार कैलालीका अध्यक्ष भीम चौधरी र अर्थ व्यवस्थापन संयोजक धनञ्जय जोशीलाई जिम्मेवारी दिइएको छ ।
३ दिन सम्म संचालन हुने उक्त मार्टको पहिलो दिन धनगढीमा प्रभात फेरी सहित वि टू वि सम्मेलन हुनेछ भने दोस्रो दिन तीन टोली बनाई प्रदेशका पर्यटकीय गन्तव्य भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणमा एक टोली धनगढी उपमहानगरभित्रका पर्यटकीय स्थलको अवलोकन गर्नेछन् भने दोस्रो कर्णालीमा ¥याप्टिङ गर्नेछन् भने तेस्रो टोली पहाडको बुडरसम्म पुग्ने भएको छ । तेस्रो दिन गोदावरीमा बृहत कार्यक्रम सहित समापन गरिनेछ ।
सुदूरपश्चिममा सन् २०१० देखि पर्यटकीय क्षेत्रको व्यापक प्रचार प्रसार भएको बताउँदै भट्टले अब त्यसलाई व्यवसायीकरण गर्दै कसरी आम्दानी गर्न सकिन्छ भनेर यो मार्टको आयोजना गरिएको जानकारी गराए ।
मार्टमा ९ वटै जिल्लाका स्टलहरु रहनुका साथै सार्क राष्ट्रका राजदूत, नेपाल सरकारका विशिष्ट अधिकृत, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा टूर प्याकेज विक्री गर्ने पर्यटन व्यवसायीलाई सहभागिताका लागि निमन्त्रणा गरिएको संयोजक भट्टले बताए ।