अत्तरिया -स्थानिय निर्बाचनको मिती नजिकिए संगै दलहरुले उम्मेदवार छनौटको गृहकार्य शुरु गर्न थालेका छन् । स्थानिय चुनावको लागी उम्मेदवार छनौट गर्ने अधिकार सबै पार्टी तल्लो तहका कमिटीलाई दिएपछि स्थानिय कमिटीहरु सकृय बन्न थालेका हुन ।
सत्ता गठबन्धनले स्थानिय चुनावमा तालमेल गर्ने भएपछि स्थानिय स्तरमा गठबन्धनका नेताहरु पनि छलफलमा जुटेका छन् । कैलालीको गोदावरीमा बलियो पकड रहेको नेपाली काँग्रेसले आगामी निर्बाचनलाई आफ्नो पक्षमा पार्ने दाबी गर्दै आएको छ ।
तर गठबन्धन हुने भएपछि उम्मेदवार छनौटमा भने गृहकार्य गर्नु पर्ने नेताहरुले बताएका छन् । यँहाका काँग्रेसका अधिकांस नेताहरु गठबन्धन गर्न नहुने पक्षमा रहेका छन् । केन्द्रले तालमेल गर्ने अधिकार स्थानिय कमिटीलाई दिने भएपछि नेताहरु अलमलमा परेका छन् । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ का सचिब जयराज फुलाराले अहिले नै केही छलफल नभएको बताए । 'अहिले नै के गर्ने भन्ने छलफल भएको छैन ।
'काँग्रेसको आन्तरिक एकतालाई बलियो बनाएर चुनावमा जानुपर्ने हाम्रो यँहाको परिस्थिती रहेको छ,' उनले भने,' गठबन्धन कसरी गर्ने भन्ने कुरा त अब मिटिङ बसेर सल्लाह गर्नु पर्ने हुन्छ ।'
यस्तै कांग्रेस नेता उत्तम कठायतले कांग्रेस बलियो रहेको वडामा गठबन्धन नहुने जिकिर गरे । 'गठबन्धन प्रतीको बुझाई नै अली फरक देखियो । पार्टीले गठबन्धन गर्ने भनेको काँग्रेस बलियो भएको ठाउँमा छोड्ने भनेको होइन,' उनले भने,' गठबन्धनका अरु दलहरु बलियो रहेका ठाउँमा काँग्रेसले सहयोग गर्ने भन्ने हो । त्यसैले आबश्यकता अनुसार गठबन्धन गर्ने भनेको त्यही हो ।'उनले गोदावरीमा गठबन्धन भएपनी काँग्रेस कै नेत्रित्वमा हुने बताए ।
यस्तै काँग्रेसका अर्का नेता सुरत कार्कीले वडा तह सम्म नै गठबन्धनमा रहेका दलहरु बिच तालमेल हुनुपर्ने बताए । पार्टी केन्द्रले नै निर्णय गरीसकेकाले अब गठबन्धन गरेर नै जानुपर्ने उनको भनाई रहेको छ ।