धनगढी - सुदुरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरुले एक ठाउँमा उभिएका छन् । बुधबार धनगढीमा भएको छलफलमा नेपाली कांग्रेस र एमालेका प्रदेशसभा सदस्यहरू सरकारको विपक्षमा एक हुने टुंगोमा पुगेका छन् ।
कांग्रेसका प्रदेश सांसद भरत खड्का केन्द्रको भन्दा पनि प्रदेशको आवश्यकताअनुरूप गठबन्धन गर्नुपर्नेमा जोड दिन्छन् । “एकतर्फी रूपमा सरकारले काम गर्दै आएको छ । त्यसको भागीदार हामी किन बन्ने ? केन्द्र सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाउनुपर्ने देखिएको छ । मंगलबार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको छ,” उनले भने ।
यस्तै, कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले सुदूरपश्चिम सरकार चलाउन नयाँ समीकरण बन्ने बताए । “एमाले पनि अहिले प्रतिपक्षमा छ । उसले कांग्रेसको साथ पाउँदा सरकारको विरोध गर्ने शक्ति बलियो हुन्छ,” उनले भने ।
एमालेका प्रदेश संसद लीलाधर भट्टले कांग्रेस र एमालेबीच सरकारका गलत प्रवृत्तिविरुद्ध सशक्त भएर अघि बढ्ने सहमति भएको जानकारी दिए । “हाम्रो दुवै प्रतिपक्षीको साझा धारण छ । छलफलबाट पनि त्यही निष्कर्ष निकालेका छौँ,” उनले भने ।
प्रदेश गठबन्धनबारे कांग्रेसका प्रदेश सांसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बिका थापा तथा एमालेका प्रकाशबहादुर शाह, लीलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेव रेग्मीबीच संयुक्त छलफल भएको थियो । यो प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरेको छ । सत्तासाझेदार दलका रूपमा एकीकृत समाजवादी मात्रै छ । जसका कारण कांग्रेस रुष्ट छ ।