काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले पनि एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन्।
भक्तपुरको सूर्यविनायकस्थित एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंको लगानी रहेको सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘उहाँहरुले गठबन्धनबिना एमालेसँग लड्न सकिँदैन भनेर बुझ्नुभयो ठिक छ तर, उहाँहरुले गठबन्धन गरेपनि एमालेसँग लड्न सकिँदैन भनेर बुझ्नुभएको छैन। त्यो कुरा हामी बुझाउँछौँ। यसलाई व्यवहारमा साकार पार्नुपर्छ लाग्नुस्।’
एमालेलाई गठबन्धनले कुनै असर नगर्ने ओलीको दाबी थियो। गठबन्धनवाला पार्टी परित्याग गरी आज मात्रै २२ हजार कार्यकर्ता एमाले प्रवेश गरेको बताउँदै गठबन्धनले अफ्ठ्यारो पर्छ भन्ने तिर नलाग्न ओलीले आग्रह गरे।
ओलीले भने, ‘एउटा तराजुमा एक-एक किलाको पाँच वटा ढक एकातिर राख्नुभयो। अनि क्विन्टलको ढक अर्कोतिर राख्यो भने के हुन्छ? नेकपा एमाले क्विन्टलको ढक हो। पाँच वटा दल भनेको एक-एक किलाको ढकजस्ता हुन्। ५ वटा गठबन्धनमा एमालेसँग लड्न आउने कुनै पार्टीले नचिताएर र नसोचे हुन्छ। गठबन्धन गर्न जरुरी छ। उहाँहरुले गठबन्धन नगरि एमालेसँग जितिँदैन भन्ने ठिक छ। गठबन्धन गर्ने पर्छ।’गठबन्धन गरेर चुनाव लड्दा एमालेसँग प्रतिस्पर्धा गर्न सहज हुने उनको भनाइ छ।
‘हामीलाई पनि साह्रो बच्चा भयो भने लड्न मजा हुँदैन। ५ जना थपिँदा बराबर जस्तो भयो भने सोझै लड्न पाइन्छ। नत्र ५ वटा बच्चा भयो भने निहुरिएर कता लडिराख्ने? निहुरिएर लडाईँ गर्नुपर्छ। त्यही भएर उनीहरु एउटाको काँधमा अर्को,अर्कोको काँधमा अर्को सक्छन् भने चढून्। यो त गठबन्धन गर्छु भनेका हुन्।’
लोभी-पापीहरुलाई गठबन्धन गर्न व्यवहारमा सोचेजस्तो सजिलो नभएको पनि ओलीले टिप्पणी गरे। गठबन्धनमा विवाद हुने भएकाले मनोनयनको समय दुई दिन राखेको समेत आरोप लगाए।