धनगढी -आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आव्हान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिमबाट मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ । नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन् । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ६२ जना पूर्वसैनिक, दुई सय १५ पूर्वप्रहरी, ५५ जना पूर्वशसस्त्र प्रहरी र आठ जना पूर्ववन रक्षकले म्यादी प्रहरी बन्न आवेदन भरेका प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर बिष्टले जानकारी दिए । सुरक्षा निकायको भर्नामा आवेदन भरेर स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका सात सय ५६ जनाले म्यादी प्रहरीमा दरखास्त दिएका छन् ।
२०७४ सालको निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भइ काम गरेका एक हजार ८७१ जनाले पनि आवेदन दिएका प्रहरी निरिक्षक बिष्टले जानकारी दिए । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी कैलालीमा ११ हजार २२२ जनाले म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालयमा आवेदन दिएका छन् । कैलालीमा दुई हजार ४५७ जना म्यादी प्रहरीको माग गरिएको छ ।
यस्तै कञ्चनपुरमा एक हजार ४६९ जना म्यादी प्रहरी माग भएकोमा पाँच हजार ९३५ जनाको आवेदन परेको छ । डोटीमा एक हजार ३९५, अछाममा दुई हजार १४ र बाजुरामा एक हजार ६६७ जनाले म्यादी प्रहरीको फाराम भरेका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यी जिल्लामा क्रमशः आठ सय १०, एक हजार २३१ र छ सय ६८ जना म्यादी प्रहरी माग भएको छ ।
बझाङमा एक हजार ९३ जना म्यादी प्रहरी माग भएकोमा एक हजार ६५६ जना र बैतडीमा आठ सय १५ जना म्यादी प्रहरी माग भएकोमा दुई हजार २४ जनाले आवेदन दिएका छन् । यस्तै डडेल्धुरामा एक हजार ७७१ र दार्चुलामा एक हजार ९५८ जनाको आवेदन परेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरामा छ सय ५२ र दार्चुलामा सात सय ४२ जना म्यादी प्रहरी भर्नाका लागि कोटा तोकिएको छ ।
म्यादी प्रहरीको आवेदन दिनेमा आर्थिक अवस्था कमजोर भएका तथा उच्च शिक्षा पास गरेका बेरोजगार युवायुवतीहरुको संख्या बढी छ ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले देशभरनै म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।