अत्तरिया - अहिले देशभर डेंगुको प्रकोप बढ्दै गएको छ । डेंगुका कारण एक जनाको मृत्यु समेत भैसकेको छ भने दजनौमा संक्रमण देखिएको छ । यता कैलालीको गोदावरी नगरपालिकामा पनि दुई जना डेंगुका बिरामी फेला परेका छन् । गोदावरी नगरपालिकाका वडा नं १ बस्ने २० वर्षीया एक महिलामा र ४८ बर्षिय उनका बुवामा डेंगुको संक्रमण देखिएको गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख हर्क बहादुर खड्काले जानकारी दिए ।
डेंगुको संक्रमण देखिए पछि उनीहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको र दुवैको अबस्था सामान्य रहेको उनले बताए । उनीहरुको नाम भने खुलाइएको छैन । स्थायी ठेगाना गोदावरी नगरपालिकामा भए पनि अध्ययनका लागि भारतको देहरादुनमा रहेकी २० वर्षीया महिलालाई सुरुमा डेंगुको संक्रमण देखिएको थियो । छोरीलाई डेंगु लागेको थाहा पाएपछि उपचारका लागि देहरादुनमा पुगेको उनका बुवालाई पनि संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख खड्काले जानकारी दिए ।
‘नगरपालिका भित्र अहिले सम्म दुई जनामा डेंगु संक्रमण देखिएकोे छ , यो पनि याँहाको होइन ,पढाईका लागि ति नानी भारतमा बस्दि रहेछिन् त्यहि भएको बेला उनलाई डेंगु संक्रमण देखिएको हो ’ उनले भने ‘तर यसको प्रकोप देशैभर फैलिरहेकाले सबैले सचेत रहन जरुरी छ ।’ नगरपालिका भित्र पनि डेंगुको संक्रमण भेटिएपछि स्वास्थ्य शाखाले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । प्रमुख खड्काका अनुसार अहिले सबै वडा कार्यालय र स्वास्थ्य संस्थामा डेंगु संक्रमण सम्बन्धि जानकरी गराइसकेको र मिडिया , पत्रपत्रिकावाट सबैलाई सचेत रहन पत्राचार गरिदै आएको छ ।
अबको केहि दिनमा बिभिन्न संघसस्थाका प्रमुख वा प्रतिनिधि , स्वास्थ्यकर्मी , समाजसेवी , सुरक्षाकर्मी , पत्रकार सबैलाई एक ठाउमा भेला गराई डेंगु नियंत्रण अभियान सुरु गरिने स्वास्थ्य शाखा प्रमुख खड्काले जानकारी दिए । डेंगुको मुख्य कारक भनेको लामखुट्टे नै हो । एडिस एजिप्टाई जातको लामखुट्टेले टोक्दा यो रोग लाग्ने गर्दछ । यो लामखुट्टेले दिउँसो टोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।
यसबाट बच्न घर वरिपरि सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, छतमा पानी जम्न नदिने , घरका झ्यालढोकामा जाली लगाउने, बच्चालाई दिउँसो सुताउँदा पनि झुल प्रयोग गर्ने, करेसाबारी र गमलामा पानी जम्न नदिने , मानिसहरुको बढि भिडभाड हुने पानी जम्ने ठाउँलाई पुर्ने र लामखुट्टेका वासस्थान नष्ट गर्ने लगाएत यस सम्बन्धि जनचेतना जोगाउन आवश्यक रहेको रहेको छ । यस्तै घरबाहिर बस्दा लामा बाहुला भएका लुगा लगाउने र झुल टाँगेर सुत्ने र्गयो भने लामखुट्टेबाट बच्न सकिने चिकित्सकहरु बताँउदछन् ।
डेंगुका लागि सहरी र तराई क्षेत्र जोखिम स्थल हुन् । ढल, पानी, सडक निर्माणका लागि बाटो खन्ने र त्यत्तिकै छोड्ने गरेका खाल्डामा पानी जम्न गई लामखुट्टेको उत्पादन र विकास हुन जान्छ । सहरी क्षेत्रमा जताततै फालिने गाडी र मोटरसाइकलका टायरमा जम्ने पानी लामखुट्टेको वासस्थानका लागि उपयुक्त स्थान नै मानिन्छन् । सफा पानीमा अण्डा पारेर पोथी लामखुट्टेले बच्चा निकाल्ने बेलामा मान्छेलाई टोकेपछि डेंगुको संक्रमण बढि देखिने चिकित्सक बताँउदछन् ।