कैलाली - नेकपा एमालेका सचिव योगेश भट्टराईले आगामी स्थानीय तहको निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशत भन्दा धेरै स्थानीय तह जित्ने दाबी गरेका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन ।
'अघिल्लो निर्बाचनमा हामीले ४०-४५ प्रतिशत ठाउँमा एमाले ले जितेको थियो अब त्यो तथ्याङ बढेको छ । एमाले को गणित प्लस प्लस हुँदै जाने हो अरुको घटदै जाने हो उनले भने ,‘रुख सुकेको छ । कलममा मसी छैन । हँसिया हतौडा गोलाकार भित्र छैन । हसिया एकातिर छ हतौडा अर्कै तिर छ । तर सूर्य चम्किरहेको छ ।' उनले यो गठबन्धन को सरकार बने देखी नै देशको अर्थतन्त्र डामाडोल भएको जिकिर गरे । उनले यो गठबन्धनको विकल्प नेकपा एमाले भएकाले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै ले सबैलाई जित्ने बताए ।
उनले अगामी निर्वाचनमा मुख्य गरी नेकपा एमाले र नेपाली कांग्रेसकाबीचमा प्रतिस्पर्धा हुने बताउँदै मुलुक बिस्तारै बहुदलीय प्रणालीबाट दुई पार्टीबिचको प्रतिस्पर्धामा गइरहेको उल्लेख गरे ।आगामी निर्वाचनमा राष्ट्रिय स्तरमा कुनै पनि दलसँग सहकार्य हुन नसक्ने समेत उनले बताएका थिए । स्थानीय स्तरमा भने अघिल्लो कमिटीसँगको समन्वयमा गठबन्धन हुन सक्ने उनको भनाइ थियो ।
‘पार्टीले केन्द्रबाट स्थानीय तहको निर्वाचनमा गठबन्धन वा कुनै तालमेल घोषणा गर्दैन,’ भट्टराईले भने, ‘आवश्यकता परेमा स्थानीय आवश्यकताका आधारमा तल्लो कमिटीको सिफारिसमा सम्बन्धित जिल्ला कमिटीले तालमेल गर्न सक्छ ।’गठबन्धनले विभिन्न बहानामा अझै पनि निर्वाचन सार्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही समयअघि एमालेसँग पनि गठबन्धन हुन सक्ने आशय व्यक्त गरेकोप्रति लक्षित गर्दै उनले भने, ‘एमाले भनेको कांग्रेस र माओवादीको बार्गेनिङ चिप्स होइन । एमालेको भूत देखाएर माओवादीले कांग्रेसलाई तर्साएका हुन्’ उनले भने, ‘गठबन्धन गरे पनि नगरे पनि हामीलाई केही फरक पर्दैन । हामी राष्ट्रिय स्तरमा कसैसँग पनि गठबन्धन गर्दैनौँ ।’