काठमान्डौ -प्रमुख प्रतिपक्षी नेकपा एमाले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि केन्द्रदेखि वडासम्मको कमिटीलाई एकसाथ परिचालन गर्ने रणनीति बनाएको छ।
बुधबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि पार्टीका सबै कमिटीलाई चलायमान बनाउने रणनीति सार्वजनिक गरेका हुन्।
ओलीले स्थानीय निर्वाचनमा बहुमत हाँसिल गर्ने पार्टी योजनालाई सफल बनाउन केन्द्रीय कमिटीदेखि वडा कमिटी र सम्पर्क मञ्चका समेत सदस्यहरुले अनिवार्य चुनावी अभियानमा होमिने गरी परिचालित हुन निर्देशन दिएका छन्।
उनले एमाले एक्लैले निर्वाचन जित्न सक्षम रहेको बताउँदै अबको लक्ष्य विजय सुनिश्चित गराउन सबै कमिटीका सदस्यहरु मैदानमा होमिनुपर्ने निर्देशन दिएका छन्।
'निर्वाचन मिति घोषणा भइसकेको र निर्वाचन कार्यतालिका समेत प्रकाशित भइसकेको सन्दर्भमा वैशाख ३० सम्मका लागि हाम्रो कामको केन्द्रबिन्दू निर्वाचनको तयारी र पार्टीको विजय सुनिश्चित गर्नु हो', उनले भनेका छन्, 'यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन। यो त जनादेश परमादेशबीचको जनमत सङ्ग्रहका रूपमा हुँदैछ।'
पार्टी केन्द्रीय कमिटी बैठकमा ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा ओलीले भौगोलिकदेखि गैरभौगोलिकसहित सबै कमिटीका पदाधिकारी र सदस्यहरुलाई जनमत संग्रहसरहको चुनावी अभियान होमिन भनेका हुन्। ओलीले सबै कमिटीका नेताहरु खटिने क्षेत्रसमेत उल्लेख गरेर निर्देशन जारी गरेका हुन्।
कुन कमिटी सदस्य कहाँ?
जिल्लाभर : केन्द्रीय कमिटी सदस्यहरु
पालिकाभर : प्रदेश कमिटी सदस्यहरु
पालिकाभर : सम्पर्क मञ्चका सदस्यहरु
वडाभर : पालिका कमिटी सदस्यहरु
टोलभर : वडा कमिटी सदस्यहरु
घरधुरी गनेर : टोल कमिटी सदस्यहरु