बैतडी– बैतडीको नेपाल–भारत सीमानाका महाकाली भन्सार कार्यालय झुलाघाटबाट गत आर्थिक वर्षमा रु ५५ करोडको सामग्री आयात भएको भए पनि निर्यात भने शून्य रहेको छ ।
भन्सार कार्यालयबाट भारत तर्फ केही पनि निकासी नभएको महाकाली भन्सार कार्यालयले जनाएको छ । उत्पादनको कमी हुनु, व्यावसायिक उत्पादन नहुनु र मोटरेबल पुल नभएका कारणले निर्यात हुन नसकेको महाकाली भन्सार कार्यालयका प्रमुख रामराजप्रसाद चौरसियाले जानकारी दिए ।
कृषिजन्य उत्पादनमा कमी आउनु, कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण निर्यात हुने खालका सामग्री नै उत्पादन हुन नसकेको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष खीमानन्द भट्टले बताए ।
यसअघि झुलाघाट भन्सार नाका भएर रिठा, भटमास र घ्यू निर्यात हुने भए पनि पछिल्लो समयमा यो पनि रोकिएको छ ।
लक्ष्यअनुसार राजश्व सङ्कलन भएन
पछिल्ला वर्षमा भन्सारले लक्ष्यअनुसारको राजश्व सङ्कलन गर्न सकिरहेको छैन । भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा रहेको भन्सार कार्यालयले तोकेको लक्ष्यअनुसार गत आर्थिक वर्षमा पनि राजश्व सङ्कलन गर्न सकेको छैन ।
गत आथिक बर्षमा रु १ करोड ९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार कार्यालयले रु ८९ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गरेको छ ।
अघिल्लो आर्थिक बर्ष २०७४/७५ मा रु १ करोड १९ लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा रु ७१ लाख ७७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको थियो । तर आर्थिक बर्ष २०७३/७४ मा रु १ करोड ४४ लाख र आथिक बर्ष २०७२/७३ मा रु १ करोड ४० लाख राजश्व सङ्कलन भएको थियो ।