सिन्धुली - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले चुनावका लागि गठबन्धनको मात्रै भर गरेर नबस्न कार्यकर्तालाई सुझाएका छन्। शनिबार सिन्धुलीमा आयोजित पार्टी भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफैं जित्नेगरी तयारी गरे मात्रै गठबन्धन कामकाजी हुने बताए।
'गठबन्धनको भर परेर ढुक्कसँग नसुत्नुहोला। आफैं जित्ने गरी बनाइयो भने मात्रै गठबन्धन पनि कामकाजी हुन्छ। आफूले जित्ने तयारी नगरीकन गठबन्धनको भर गरियो भने भन्न सकिँदैन, भोलि बिहान के हुन्छ? त्यसकारण आफ्नो तयारी राम्रो गरौँ। अनि मात्रै गठबन्धन पनि हामीलाई खोज्दै आउँछ। हामीले रगत बनाएर ल्याएको परिवर्तनलाई हामीले नै रक्षा गर्ने हो', उनले भने।
प्रचण्डले पटकपटक स्थानीय तहको निर्वाचन सामान्य र औपचारिक मात्रै नभएको बताएका थिए। माओवादी 'जनयुद्ध' र सात राजनीतिक दल र नेकपा माओवादीबाट चलेको संयुक्त जनआन्दोलनका उपलब्धिको रक्षा गर्ने या तिनलाई मर्न दिने भन्ने लडाइँ भएको उनको जोड थियो।
'यो निर्वाचनलाई सामान्य नठान्नुहोला। अरुको लागि यो निर्वाचन हो। एउटाले जित्छ, अर्कोले जित्छ। तर, हामी माओवादीको निम्ति त्यो मात्रै होइन', उनले भने, 'यो निर्वाचन हामीले हार्यौँ भने संविधान हार्नेवाला छ। गणतन्त्र हार्ने खतरा छ। जनयुद्धको उपलब्धिले हार्ने खतरा छ। शान्ति प्रक्रिया हार्ने खतरा छ। त्यसैले यो हाम्रा निम्ति ब्याटल हो, लडाइँ हो। त्यसैले हामीले जित्नै पर्छ।'
उनले विगतमा झैं धेरे क्रान्तिकारी हुँदा प्राप्त उपलब्धि पनि गुम्ने जोखिम देखेपछि १२ बुँदे व्याख्यात्मक घोषणा गरेर एमसीसी पारित गरेको बताए ।‘अहिले पनि क्रान्तिकारी टोपलिएर १२ बुँदे गर्दिनँ भनेको भए, केन्द्र सरकार पनि जाने, सभामुख पनि जाने, प्रदेशको सरकार पनि जाने, शान्ति सम्झौता पनि जाने’ प्रचण्डले भने, ‘के हामी अहिले नै भूमिगत भएर हतियार उठाएर जाने स्थिति हो त ? सर्वनाश हुन लाग्यो भने जति पाइन्छ त्यति लिएर त्यहाँ टेकेर अगाडि बस्नु पो बुद्धिमानी हो ।’