अत्तरिया - आज फागु पूर्णिमा अर्थात् होली पर्व । बिषेश गरेर आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षउल्लासका साथ मनाइदैछ । पहाडी तथा हिमाली जिल्लाहरुमा आज र तराईका जिल्लाहरुमा भोली मात्रै होली पर्व मनाइने भएपनि धेरैले होली सुरु हुनुभन्दा पहिले देखि नै होली खेल्न सुरु गरिसकेको थिए ।
तराईका कैलाली कञ्चनपुर जिल्लाहरुमा होली आउन एक दुई दिन अघि देखी नै रौनक सुरु भैसकेको थियो । होली पर्वलाई धार्मिक आस्थाका साथै रमाइलो उत्सवको रूपमा पनि लिने गरिन्छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। विगत वर्ष जस्तै यस वर्ष पनि कोरोनाको प्रभाव विश्वव्यापीरुपमा बढ्दै गएकाले फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ
साथै घर परिवारमै फागु पूर्णिमा मनाउन पनि प्रशासनले अनुरोध गरेको छ। होलीमा रङमा रङमङिनेमा युवाहरूको जमात नै बाक्लो देखिन्छ । काठमाडौंको टुडिखेल, जावलाखेल, भुकुटीमण्डपमा आदि सार्वजिन स्थलमा त विशेष कार्यक्रम नै गरेर यसलाई उल्लासमय बनाइन्छ ।
फागु अर्थात होली रङ्गहरूको पर्व हो तर रङका साथै पानी छ्यापाछ्याप गरेर पनि होली खेलिने गरिन्छ । यो चाड हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस पर्वले वसन्त ऋतु आएको जानकारी दिने गर्दछ । त्यसैले यसलाई प्रेमको पर्व पनि मानिन्छ । यो पर्व हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
होलिका दहनको पौराणिक प्रसंग यसमा जोडिन्छ । होलिका दहन गरेपछि होली खेल्ने भएकाले तराईमा पूर्णिमाको भोलिपल्ट होली खेलिन्छ भने उपत्यका र पहाडमा भने पूर्णिमाकै दिन होली खेलिन्छ ।
नेपाल भारत लगायत अन्य राष्ट्रमा रहेको हिन्दुहरूको मात्र चाड नभएर सम्पुर्ण जातजाती तथा धर्मापलम्बिहरुको चाड बनिसकेको छ ।