अत्तरिया - कैलालीको क्षेत्र नं ४ मा नेपाली काँग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको छ । अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा आज एक भब्य कार्यक्रमको आयोजना गर्दै क्षेत्र नं ४ मा उक्त एक महिने अभियान सुरु भएको हो ।
कैलाली क्षेत्र नं ४ का क्षेत्रिय सभापति बसन्त रोकाया ललितको सभापतित्वमा सुरु भएको कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा उक्त अभियानका लागि केन्द्रवाट खटिएका गोविन्द बहादुर शाह प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहले सरकारले बैशाखमा तोकेको स्थानिय तहको निर्वाचनमा काँग्रेसलाई बहुमतका साथ बिजयी गराउने तयारी स्वरुप उक्त अभियानको सुरुवात गरिएको बताए । उनले केन्द्रिय कार्यसमितिको निर्णय बमोजिम सात वटै प्रदेश , प्रत्येक जिल्ला , प्रत्येक क्षेत्र र प्रत्येक नगर र वडामा यो अभियान एक महिना सम्म संचालन हुने बताए ।
उनले आफूलाई यही अभियानका लागि कैलाली जिल्लाको जिम्मेवारी दिएर पठाएकाले अब यस अभियान अन्र्तगत आफू पनि प्रत्येक गाउँ गाउँ , टोल टोल र घर घरमा पुग्ने बताए ।
उनले स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन वडा र टोल तह सम्म पार्टी भित्र सौहार्दता, एकता र ऊर्जा थप्ने , कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन मतदातालाई अपिल गरिने , आम जनताहरुका गुनासो सुन्न र एमसीसी परियोजना बारे रहेको भ्रमलाई चिर्ने अभियानको उद्देश्य रहेको बताए ।
यस्तै जुन टोलहरुमा टोल समितीहरु गठन भएका छैनन् त्यहाँ टोल समिति गठन गरिने , दुईतिहाईको कम्युष्टि सरकारले सुशासनको सट्टा कुशासन ल्याएको कुरा , देशभर गरेको भष्ट्रचारका कुराहरुलाई फण्डाफोर गर्दै यि कुराहरु जनतालाई बुझाएर सचेत गराउने काम यस अभियानले गर्ने उनले बताए । उनले यस जिल्लाका ५ संघिय निर्वाचन क्षेत्र , १० वटा प्रदेश , १३ स्थानिय तह , १ सय २६ वडा र प्रत्येक गाउँ गाउँका जनताको घर दैलोमा पुग्ने बताए ।
कार्यक्रम बारे जानकारी दिदैँ क्षेत्रिय सभापति बसन्त रोकाया ललितले क्षेत्र नं ४ मा आजवाट काँग्रेसको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको सुरुवात भएको बताए । उनले आजका दिनदेखी अबका तिनै तहका निर्वाचन सम्म काँग्रेसका नेताहरु जनतामुखी र गाउँमुखी हुने बताए ।
"आजका दिनदेखी स्थानिय तहको निर्वाचनदेखी संघिय निर्वाचन सम्पन्न नहुदाँ सम्म हामी अब जनताका माँझमा जान्छौ , जनतामुखी भएर अगाडी बढ्छौ" उनले भने - "बोल्नेको आटो बिक्ने , नबोल्नेको चामल पनि बिक्दैन भन्ने उखानलाई मनन गर्दै अब काँग्रेसले गरेका कामहरु जनता माझँ बुझाउने , जनताका आशा , भरोसा अपेक्षाहरु के के छन् यो अभियान मार्फत हामीले सबै कुराको खोजी निती गर्नेछौ ।"
उनले क्षेत्र नं ४ अन्र्तगत पर्ने गोदावरी नगरपालिका , गौरीगंगा नगरपालिका र चुरे गाउँपालिकाका प्रत्येक वडा वडा र वडाका पनि टोल टोलमा यो अभियान भब्यताका साथ संचालन गरिने बताए ।
उनले यसका लागि सबै काँग्रेसका नेता कार्यकर्ताहरुलाई आ आफ्ना तर्फवाट महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध समेत गरेका छन् ।
बिषेश गरि स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सुरु भएको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ कार्यक्रममा नेपाली काँग्रेस सुदूरुपश्चिम प्रदेका पदाधिकारी , कैलाली जिल्लाका सम्पूर्ण पदाधिकारीहरु , प्रदेश सभाका पदाधिकारीहरु , नगर , वडाका पदाधिकारी सहित ठूलो संख्यामा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।