अत्तरिया - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले विरुद्धको औषधि (आज) शनिबार देखि खुवाउने भएको छ ।मन्त्रालयको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दाशले कैलाली सहित मुलुकभरका १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने जानकारी दिए।
कैलाली सहित अन्य जिल्ला झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ र बाँकेमा हात्तीपाइले विरुद्धको औषधि खुवाउन थालिने उनले बताए । तीमध्ये झापा, बारा, लमजुङ, पर्वत र बागलुङमा दुई थरिका र मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा तीन थरिका औषधि खुवाइने छ ।
उनले यी १० जिल्लामा औषधि खानयोग्य सबैले नखाइ दिएको र हरेक दुईरदुई वर्षमा रगत परीक्षण गर्दा रोगको दर नघटेकाले पुनःऔषधि खुवाउनुपरेको बताए । ती जिल्लाका सबैलाई औषधि खुवाइने छ ।
हात्तीपाइले हाइड्रोसिल र खुट्टामा देखिने गर्दछ । ती १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउन थालिएको हो । चार हजार ७०० स्वास्थ्यकर्मी र आठ हजार ८०० महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् ।
विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हात्तीपाइले रोग सामाजिक रोग भएकाले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताए। विश्वमा ७२ देशमा देखिएका हात्तीपाइले रोग नेपाल २५ देशमध्ये जोखिममा पर्ने गरेको छ ।