गोदावरी (नायल)- नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेशमा इन्चार्ज लेखराज भट्टले गेटा मेडिकल कलेजका भौतिक संरचना निर्माण भइसक्दा समेत सरकारले सञ्चालनमा ढिलाइ गरिरहेको बताएका छन् ।
मंगलबार गोदावरी नगरपालिका–१२ को नाइलमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको मोडालिटीमा सञ्चालन गर्नुपर्ने भएपनि विभिन्न बाहानामा ढिलाइ गरिएको बताए । मेडिकल विश्वविद्यालय सञ्चालनमा स्वयंम प्रधानमन्त्री शेरबहादुर देउवा बाधक बनेको आरोप समेत लगाएका छन् ।
‘मैले प्रधानमन्त्रीलाई भेटेर गेटामा भौतिक संरचना निर्माण भइसकेकाले मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन गनुपर्यो भनेको छु तर उहाँले यो ऐन छैन त्यो ऐन छैन भनेर पन्छिने काम गरिरहनुभएको छ,’ भट्टले भने, ‘अध्यायदेशबाट पार्टी फुटाउन मिल्ने अनी विश्वविद्यालय बनाउन सकिदैन ? भनेर मैले उहाँ (प्रधानमन्त्री)लाई आग्रह गरेको छु ।’
जवाफमा प्रधानमन्त्री देउवाले मेडिकल विश्वविद्यालय सञ्चालन गर्न अझै तीन वर्ष लाग्ने बताएको उल्लेख गर्दै उनले उक्त अवधिसम्म भौतिक संरचना जीर्ण भइसक्ने जनाएका छन् । आफू उद्योग वाणिज्य तथा आपूूर्ति मन्त्री भएका बेला सुदूरपश्चिम प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएका दोधाराचाँदनीमा सुुख्खा बन्दरगाह निर्माणका लागि डीपीआर बनाउने, दैजी छेला औद्योगिक क्षेत्रको तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट शिलान्यास, हरैयालाई विशेष आर्थिक क्षेत्र घोषणा गरेर आवश्यक काम अगाडि बढाइएको भनाई पनि उनकोृ थियो ।
नेकपा एमाले देशलाई व्यवस्थित, विकास र जनतालाई उज्यालो देखाउने पार्टी भएको दाबी पनि भट्टले गरे । फरक प्रसंगमा बोल्दै भट्टले तत्कालीन नेकपा फुटाएर अलग भएका प्रचण्ड र माधव नेपाललाई अहिले पार्टी मिलाउन धौऔँ धौँऔँ परेको टिप्पणी गरेका छन् । तर एमालेमा भने कुनै खालको समस्या नभएको जिकिर उनको थियो ।
देश र जनताको पार्टी एमाले नै हो - पूर्वमन्त्री सुबेदी
सोही कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एमम पूर्व सामाजिक बिकास मन्त्री कृष्णराज सुबेदीले एमाले पार्टीले मात्रै देश र जनताको पक्षमा काम गर्ने जिकिर गरे ।
उनले भने - 'गाउँ गाउँमा हामीले बजेट दिएर बिकास निर्माण का काम हुँदै छन् । तर पार्टी फुटाएर गएकाहरु गाउँ गाउँमा गएर झुट बोल्दै छन् सचेत रहनु होला ।' यस्तै मन्त्री सुबेदीले नेकपाको एकता भंग नेताहरुको ब्यक्तीगत स्वार्थ टकराबको कारण भएकोले फेरी कम्युनिष्ट पार्टी एकता गर्नुपर्नेमा जोड दिए ।