अत्तरिया - ए डिभिजन क्लब न्युरोड टिम एनआरटी धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । उसका सुमन राई पेनाल्टीमा चुके ।एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । खेलको ६८ औं मिनेटमा स्टेफेन समिरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । खेलको ७४ औं मिनेटमा स्टेफेनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–० को अग्रता दिलाए ।तर, खेलको ८३ औं मिनेटमा विमल घिसिङले गोल गर्दै बागमतीलाई २–१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा विजय घलानले गोल गर्दै बागमतीलाई २÷२ गोलको बराबरीमा ल्याएका थिए ।यस जितसँगै बागमती क्वाटरफाइनलमा पुगेको छ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा टिकट दर राखिएको छ । जसमा विद्यार्थीका लागि १ सय र अन्यका लागि १ सय ५० राखिएको छ ।