अत्तरिया - अत्तरियामा शिवरात्री पर्वको अबसरमा शिवध्वजारोहण एवम् स्नेही मिलन कार्यक्रम सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नं १ अत्तरियामा रहेको बह्मकुमारी ईश्वरिय विश्वबिधालयको आयोजनामा शिवरात्री पर्वको अबसर पारेर शिवध्वाज र मिलन कार्यक्रम सम्पन्न गरिएको हो ।
ब्रह्मकुमारी ईश्वरिय विश्वबिधालय अत्तरियाकी संचालिका रविना दिदिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी प्रमुख अतिथी रहनुभएको थियो भने सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री कृष्णराज सुवेदी र सुदूरपश्चिम सशस्त्र प्रहरी बल बैजनाथ बाहिनी अत्तरियाका बाहिनीपती डिआइजी दुर्गा प्रसाद भट्टराई बिशिष्ट अतिथी रहनुभएको थियो ।
कार्यक्रममा छोटो शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथी राज्यमन्त्री चौधरीले पछिल्लो समय चार्डपर्वहरु मनाउने क्रममा बिभिन्न खाले बिकृति बिसंगतिहरु फैलिरहेको प्रति चिन्ता ब्यक्त गरिन् । उनले शिवरात्री मनाउने भन्दै बिभिन्न खाले शरिरलाई हानी नोक्सानी हुने खालका चिजहरु सेवन गर्नले समाज नकारात्मक सन्देश फैलिरहेकाले यस तर्फ सबै सचेत बन्नुपर्ने बताइन् ।
उनले हामीहरुले सबै खाले चार्डपर्वहरुलाई सामाजिक मिलनको पर्वका रुपमा लिनुपर्ने बताइन् । उनले शिवरात्री पर्व पनि शुद्ध मन बनाएर भगवान शिवलाई सम्झिदै घर , परिवार र आफन्तहरु बिच मिठो मसिनो खाएर एक आपसमा सद्धभाव बढाउने पर्व रहेको बताइन् ।
उनले शिवरात्रीको अबसरमा बह्मकुमारी ईश्वरिय विश्वबिधालयले आयोजना गरेको मिलन कार्यक्रमले साच्चिकै हामी सबै एक अर्काका जातजाती , धर्म , संस्कृती , भेषभूषाप्रतिको माया प्रगाढका साथै एकजुट छौ भन्ने सन्देश देखाएको बताइन् ।
यस्तै सोही कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी सशस्त्रका डिआईजी भट्टराईले पनि चार्डपर्व मनाउने नाममा आफ्नो धर्म संस्कृतिलाई बिर्सिएर अनआवश्यक बाहिरी कुराहरु भित्रिउन नहुने बताए । उनले शिवरात्रीको सबैलाई शुभकामना दिर्दैै शिवरात्रीमा जे खाए पनि हुन्छ भन्ने मनस्थितीलाई त्यागेर एक आपसमा माया र सद्धभाव प्रगाढ बनाउने किसिमले पर्व मनाउन आग्रह गरे ।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै बह्मकुमारी ईश्वरिय विश्वबिधालय अत्तरियाकी संचालिका रविना दिदिले आज शिवजीको महत्वपूर्ण दिन भएकाले शिवको नाममा शिवध्वाजको पनि उद्धघाटन गरिएको बताइन् । उनले आफ्नो धर्म , संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व भएकाले सबैले शान्त मनका साथ बह्मकुमारी ईश्वरिय विश्वबिधालयमा आएर दैनिक आध्यात्मिक ज्ञानहरु प्राप्त गर्न सकिने बताइन् ।
कार्यक्रममा सहभागी अतिथीहरुले शिवको जन्मजयन्तीको अबसर पारेर सामूहिक केक काटेका थिए शिवको ध्वजारोहण गरेका थिए । सो कार्यक्रममा गोदावरी नगरपालिका कार्यपालिका सदस्य ईश्वरा आर्चाय , अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी , अत्तरिया पतञ्जली योग समितिका अध्यक्ष दुर्गा प्रसाद प्रसाई लगाएत बिभिन्न संघसंस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।