महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त नगरपालिकाको अव बाह्रसिंङ्गाको नगरको रुपमा पहिचान हुने भएको छ । नगरपालिकाले पाँचौ शुक्लाफाँटा पर्यटन महोत्सवको अवसरमा आर्थिक २०७८÷०७९ को नीति तथा कार्यक्रम अनुसार बाह्रसिंङ्गालाई नगर ब्रान्ड घोषणा गरेसंगै नगरपालिकाले बाह्रसिङ्गाको नगरको रुपमा पहिचान पाउने भएको हो ।
बिहिबार भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित बाह्रसिंङ्गाको चौराहामा नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्तलाई ‘बाह्रसिंङ्गाको नगर’ घोषणा गरे । भीमदत्तलाई प्रचार प्रसारका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि तयार गरिएको साँकेतिक डिजाइन तथा लोगो नगर प्रमुख बिष्टले सार्वजनिक गरेका हुन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठुलो बाह्रसिङ्गाको झुन्ड देख्न पाईन्छ । बाह्रसिंङ्गामार्फत शुक्लाफाँटालाई राष्ट्रिय तथा अन्तर्राष्टि रुपमा प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धन गर्ने नगरपालिकाको योजना छ । नगर प्रमुख विष्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रचुर सम्भावनाको धनी रहेको बताउँदै त्यसको प्रवद्र्धन कार्यलाई नगरपालिकाले प्रथामिकताका साथ अघि बढाएको बताए ।
‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अपार सम्भावना बोकेको क्षेत्र हो ।’ नगर प्रमुख विष्टले भने यसको संरक्षणसँगै प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिन्छ, त्यसका लागि नगरपालिका प्रतिवद्ध रहेको छ ।’ शुक्लाफाँटाको पर्यटन प्रवद्र्धनकै लागि विगत पाँच वर्षदेखि पर्यटन महोत्सव आयोजना गरिदैँ आएको समेत उनले बताए ।
साथै उनले शुक्लाफाँटामा सहायक प्रवेशद्धारा निर्माणसँगै अन्य आवश्यक पुर्वाधार निर्माणका लागि पहल गर्ने प्रतिवद्धता समेत जनाए । त्यस्तै वन्यजन्तु र बस्तीबिचको द्धन्द्ध नियन्त्रणका लागि निकुञ्ज किनारमा पर्यटन मार्ग निर्माणसँगै मेस वायरको समेत व्यवस्था गरिएको उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा प्रमुख संरक्षण अधिकृत किशोर मेहताले नगरपालिकाले गरेको बाह्रसिंङ्गा ब्रान्ड घोषणा कार्यक्रम निकुञ्जका लागि महत्वपुर्ण भएको बताए । ‘भीमदत्त नगरपालिकाले गरेको यो कार्य प्रशंसनीय छ ।’ प्रमुख संरक्षण अघिकृत मेहताले भने ‘यसबाट पालिकाको नेतृत्व कति प्राकृति र वन्यजन्तुप्रेमी छन् भन्ने स्पष्ट हुन्छ, यस्ता कार्यले यहाँको पर्यापर्यटनको विकासमा दिर्घकालिन महत्व राख्छ ।’
ब्रान्ड घोषणा कार्यक्रममा मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति अध्यक्ष, देवी दल गणका प्रमुख सेनानी, एनटीएसीका कार्यालय प्रमुख, लगायत स्थानीयहरुको सहभागिता रहेको थियो । फाुगन नौ गतेबाट सुरु भएको पर्यटन महोत्सव यहि फागुन १५ गते समापन हुदैँछ ।