काठमान्डौ -संसद् बैठक आज १ बजे बस्दै, एमसिसीमाथि छलफल हुने संसदमा मतदान हुँदा एमसिसी पास गर्न कति संख्या चाहिन्छ भन्नेमा विवाद प्रतिनिधि सभाको बैठक आज अपरान्ह बस्दैछ। यसअघि बिहिबार दिउँसो १ बजेका लागि तय गरेको संसद् बैठक प्रधान मन्त्री शेरबहादुर देउवाको आग्रहमा सभामुख अग्नि सापकोटाले स्थगन गरेका थिए।
त्यसपछि प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ।आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसलगत्तै एमसीसीमाथि छलफल शुरु हुनेछ। यसअघि आइतबारको बैठकमा एमसीसी पेस भएको थियो।बिहिबारको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसिसीमाथिको छलफलमा बोल्न चाहने सबै सांसदलाई बोल्न दिने निर्णय गरेको छ।
बैठकले हरेक सांसदलाई ५ मिनेटको समय दिने बताएको थियो। संसद् सचिवालयका अनुसार एमसिसी प्रस्ताव सैद्धान्तिक छलफलका लागि पेस भएपछि छलफलमा भाग लिन चाहने सांसदले नाम टिपाउनेछन्।
हाल प्रतिनिधिसभामा २७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक-एक सांसद छन्।
यही अवस्थामा प्रतिनिधि सभामा सभामुखले एमसिसी निर्णयार्थ पेश गरेको अवस्थामा एमसिसीको पक्षमा कति संख्या पुग्यो भने पास हुन्छ भन्ने विषयमा विवाद देखिएको छ।