रामेछाप — दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले आफ्नै उपाध्यक्ष सहित ५ जना विरुद्ध किटानी जाहेरी दिएका छन् ।
अध्यक्ष खड्काको जाहेरीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम उपाध्यक्ष दिपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता संजीव कार्की, लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबी सहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
खड्काले प्रतिवादी बनाएका मध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ गते प्रहरीले काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको थियो । सादा पोसाकका प्रहरीले नियन्त्रण लिन खोज्दा भाग्न लागेपछि प्रहरीले चलाएको गोली तामाङको घुँडामा लागेको थियो । उनीको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ ।
जबरजस्ती चन्दा माग्ने प्रतिवादी बनाइएकी उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले बाबुराम तामाङलाई प्रयोग गरी आफूबाट २ करोड माग गर्न लगाएको र नदिए आफू र परिवारका सदस्यलाई मार्ने सम्मको धक्की दिएको आरोप खड्काले लगाउँदै आएका छन् । किटानी जाहेरीमा नाम नपरेका नेकपाका नेता कार्की समेत प्रहरीको अनुसन्धानबाट दोषी देखिएकाले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको खड्काले वताए ।
तर उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले उक्त आरोप पुष्टि गर्न चुनौति दिदै खड्कालाई पैसा मागेर धम्क्याउने कार्यमा आफ्नो कुनै सम्लग्नता नभएको दावि गर्दै आएका छन । उनिहरुको पत्रकार सम्मेलन गर्दै विकास निर्माणका कुरामा पारदर्शिता खोज्दा अध्यक्षबाट झुटा अभियोग लगाएको दावि गरेका छन ।
अध्यक्ष र उपाध्यक्षबीच झगडा भएपछि एक महिनायता गाउँपालिकाको सबै काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत समेत लामो तालिममा हिडेका छन् । जनप्रतिनिधिहरु मुद्दा–मामिलामा लागेपछि काम प्रभावित भएका हो ।