धनगढी -नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई दलीय व्यवस्थाबारे जानकारी नै नरहेको आरोप लगाएका छन ।प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले यस्तो आरोप लगाएका हुन ।
‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’
बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताए । प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताए । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’
यस्तै उनले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् । संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाए । ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भने, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’
एमाले गठबन्धन कायम रहँदासम्म एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उनले गठबन्धन नरहेमा आफ्ना धारणा राख्ने बताए । गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उनले बताए ।