धनगढी - सुदूरपश्चिम प्रदेश सभामा सत्ता पक्षकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । मड्गलवार बसेको प्रदेश सभा बैठकको सुन्य समयमा वोल्ने सत्ता पक्षकै सासदहरुले प्रदेश सरकारको गतिबिधि प्रति असन्तुष्टि जनाउदै सरकारको आलोचना गरेका हुन् । उनिहरुले सरकार जवाफदेही नभएको आरोप लगाएका छन् ।
प्रदेश सासदहरुले सरकारको निति एका तीर र काम अकेतिर गरिरहेको बताएका छन् । सत्तापक्ष नेकपाकै प्रदेश सदस्य दुर्गा कामीले प्रदेशमा सरकार छ कि छैन भन्ने कुराको जनताले अनुभूति गर्न कहिले पाउने भन्दै प्रश्न गरिन् । उनले गत बर्षको असिना पानीबाट बाली नोक्सान भएका किसानहरुले अहिले सम्म राहत नपाएको भन्दै सरकारको आलोचना गरिन् ।
यस्तै सत्तापक्षकै प्रदेश सदस्य माया तामाङ बोहराले सरकार सित जनताले अपेक्षा धेरै गरेको भएपनि सरकार जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाइन् । बजेट कार्यान्वयन नहुँदा जनतामा निराशा बढेको बताउँदै उनले बजेट कार्यान्वयन हुन नसक्नुको कारणबारे सदनमा जवाफ दिन सरकारसंग माग गरिन् । गत बर्षको प्राकृतिक प्रकोपबाट पीडित भएका जनताले हालसम्म पनि राहत पाउन नसकेको नेकपाकी प्रदेश सदस्य कुन्ती जोशीले बताइन् । उनले प्रकोपबाट पीडित जनताले अहिले सम्म राहात पाउन नसकेको भन्दै उनले आकस्मिक राहत कोष के का लागि बनेको हो भनेर सरकारसित जवाफ मागिन् ।
यस्तै मंगलबारको प्रदेश सभा बैठकमा विषयगत समितिले संशोधन प्रतिवेदन सहित प्रदेश सभामा पेस गरेको विधेयकमाथि प्रदेश सरकारले थप संशोधन गर्न प्रस्ताव पेस गरेको छ । ‘सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि दफावार छलफलको लागि पुनः सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपट वोहराले प्रस्ताव पेस गरेका हुन् ।
प्रदेश सरकारले विधेयकमा थप छलफल आवश्यक रहेको भन्दै पुन समितिमा पठाउन प्रस्ताव पेस गरेको हो । मन्त्री वोहराले समितिले प्रदेश सरकार सँग संशोधनमा दफामा घनिभुत रूपमा छलफल गर्नुपर्ने आवश्यम देखिएको बताए । उक्त प्रस्तावलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचेतक अक्कल रावलले समर्थन गरेका थिए ।
सरकारले पुनः समितिमा पठाउने प्रस्ताव गरेपछि सभामुख अर्जुनबहादुर थापाले विधेयकलाई विधायन तथा प्रदेश मामिला समितिमा पठाउन निर्णयार्थ पेस गरेका थिए । प्रदेश सभाको अर्को बैठक चैत १४ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।