बाजुरा - बाजुराको त्रिवेणी नगरपालिका ७ की ७० बर्षिया छेपाडनी ल्वार आफ्नो छोराले सधै मदिरा सेवन गरेर घरम होहल्ला गर्ने हुँदा निकै हैरान थिईन । उनका छोरा कुनै काम पनि नगर्ने दिनभरि मदिरा सेवन गरेर होहल्ला गर्ने घरमा झगडा गर्ने गरेका थिए । तर अहिले उनको छोराको दिनचर्या फेरिएको छ ।
दिनभरी मदिरा सेवन गरेर गाउँभरी डुल्ने होहल्ला गर्ने छोरो अहिले दिनभरी काम गरेर घरमा चाहिले सामान ल्याएर आउन थालेपछि आमा छेपाडनी ल्वार दङ्ग छिन । ‘गाउँमा मदिरा निषेध भएपछि छोराको दैनिकिमा परिवर्तन आएको छ । दुई वर्ष यता आफूले निकै सुख शान्त संग घरमा बस्न पाएकी छु ।’ छेपाडनी ल्वारले भनीन् – ‘गाउँमा मदिरा बन्द हुँदा नत छोराले मदिरा खान पाएको छ । न घरमा कुनै दिन झगडा हुन्छ । छोराले दिनभरी ज्याला मजदुरी गरेको सबै पैसा बचाएर घरमा ल्याउने गरेको छ । घरमा छोरा छोरी र आफूलाई लुगा कपडा र खाने कुरा लिएर आउने गरेको छ ।’
गाउँ मदिरा निषेधित नहुँदा त्रिवेणी नगरपालीका वडा न. १ बिसाल टोलकी खिमा बिकका श्रीमान पनि बजारबाट मदिर खाएर घरमा झगडा गर्ने घरमा गाली बेजती गर्ने गरेका थिए । तर अहिले खिमा बिकका श्रीमानको पनि दैनिकी फेरिएको छ ।
खिमा बिकले भनीन् –‘दुई बर्ष यता श्रीमानले कुनै दिन पनि मदिरा खाएर हो–हल्ला गरेको देखेकी छैन । कुनै दिन कतै गएर खाईहाले पनि घरमा कुनै झै–झगडा नगरी खुसुक्क घर भित्र पसि सुत्ने गरेका छन ।’ उनले त्रिवेणी नगरपालिकामा मदिरा बन्दा गर्दा श्रीमान र आफ्नो परिवारको जिवनमा निकै परिर्वतन आएको बताईन ।
छेपाडनी ल्वार र खिमा बिक उदाहरण मात्र हुन । अहिले त्रिवेणी नगरपालिकाले नगरपालिका क्षेत्रमा मदिरा निषेध गरेपछि दिनभरि मदिरा सेवन गरि होहल्ला गर्ने , काम नै नगरी दिन बिताउने , मदिराको लत लागेर दिनभरि मदिरा भट्टी तिर दिन बिताउनेहरुको दैनिकी फेरीएको छ ।
मदिराले गाउँघरमा झै –झगडा हुने गरेकोमा पछिल्लो समय झै–झगडाका घटनामा पनि कमि आएको छ । दिनभरि मदिरा सेवन गरि होहल्ला गर्नेहरु अहिले कोहि व्यवसायमा लागेका छन भने कोहि ज्याला मजदुरीमा लागेका छन ।
कसरी सफल भयो नगरलाई मदिरा निषेधित बनाउने योजना
बाजुरा जिल्लामा विगतमा जताततै मदिरा विक्री वितरण गरिदै आएको थियो । संघियता लागु भए लगतै बाजुरा जिल्लामा ९ वडा स्थानीय तह भए । बाजुराका ९ वटा स्थानीय तह मद्ये त्रिवेणी नगरपालिका सबै भन्दा बढी मदिरा विक्रि वितरण गरिने नगरपालिकाको रुपमा चिनिने गरिन्थ्यो ।
त्रिवेणी नगरपालिकाका साविको कैलाशमाण्डौ, तोली, छतारा, गाविस रहेक थिए । ति गाविसहरुमा अत्यधिक मदिरा सेवनका कारण वर्षमा ३/४ जनाले ज्यान गुमाउने गरेका थिए भने गाउँघरमा झै झगडा दिनहु हुने गरेका थिए ।
अन्य क्षेत्रमा जस्तै त्रिवेणी नगरपालीकामा पनि स्थानीय सरकार बनी सके पछि नगरवासीले नगरप्रमुख रामसिंह रावललाई सबैभन्दा पहिले मदिरा मुक्त बनाउन आग्रह गरे । स्थानियको अग्रहपछि नगरप्रमुख रावलले अन्य विकासका कामलाई थाती राखेर त्रिवेणी नगरपालिकामा मदिरा विक्री वितरण गर्न बन्द गर्ने निर्णय गरेका थिए ।
३ बर्ष अगाडी नगरपालिकाले नगरक्षेत्रमा भएका सबै मदिरा पसलको दर्ता नविकरण नगर्ने निर्णय गरेको थियो । जसका कारण नगरपालिकामा रहेका करिव ७ सय मदिरा पसल बन्द भएका थिए ।
जिल्ला कोष तथा लेखा नियन्त्रण कार्यालय बाजुराको तथ्याङ्क अनुसार त्रिवेणी नगरपालिकामा ७ सय भन्दा बढी मदिराको पसलहरु दर्ता भएका थिए ति सबै पसलहरु दुई वर्ष भित्रमा खारेज गरिएको छ ।
सबैको साथले अभियान सफल भयो – नगरप्रमुख रावल
नगर प्रमुख रामसिंह रावलले त्रिवेणी नगरपालिका शुदूरपश्चिमकै पहिलो मदिरा निषेध नगरपालिका बनाउन निकै चुनौती पूर्ण काम थियो तर त्रिवेणी नगरबासीहरुले आफूलाई यस काममा सबैले साथ दिएकाले मदिरा निषेधीत नगरपालीका बनाउन सफल भएको बताए ।
उनले आफू त्रिवेणी नगरपालिकामा मेयरमा विजय भए पछी पहिलो काम मदिरा बन्द गर्ने भनेर जनतालाई प्रतीबद्धता गरेको हुँदा आफूले पहिला मदिरा नियन्त्रण गरेको बताए ।
नगरपालिका उप–प्रमुख राधिका सुनारले त्रिवेणी नगरपालिकामा मदिरा बन्द गरे पछी यस नगरपालिकाको महिलाहरुले घरमा राम्रो संग बस्ने र खान पाएको बताईन । मदिर बन्द भएपछी शान्त त्रिवेणी नगरपालिका भएको उप प्रमुख सुनारले बताईन ।
‘त्रिवेणी नगरपालिकामा मदिराको कारण जिल्लाको सबै भन्दा बढी घटना घट्ने भएको हुँदा ति घटना न्युनिकरण गर्नाको लागि मदिरा बन्द गारिएको थियो ।’ उप प्रमुख सुनारले भनीन् – ‘मदिरा बन्द गराए पछी अहिले दुई वर्ष यता नगरपालिकामा मदिरा सेवनबाट हुने कुनै पनि घटना घटेका छैनन् , मदिरा सेवनबाट झगडा भयो भन्ने कुरा पनि नगरपालिकामा आएको छैन् ।’