अत्तरिया - बैतडीकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकारणमा जिल्ला अदालत बैतडीले फैसला सुनाएको छ । जिल्ला अदालतले उक्त प्रकरणका उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गर्दै १२ वर्ष ६ महिनाको कैद सजाय सुनाएको हो ।
अदालतले बलात्कारपछि हत्याको सो मुद्दामा डीएनए परीक्षणलाई समेत आधार मानेको छ । दोगडाकेदार गाउँपालिका वडा नं ७ कतोलाकी १७ वर्षकी भागरथी भट्टको बलात्कारपछि हत्या मुद्दामा जिल्ला अदालत बैतडीले डीएनए परीक्षणलाई आधार मानेर उनका सहपाठी दिनेश भट्टलाई दोषी ठहर गरेको हो ।
जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले आरोपित भट्टले प्रहरी र अदालतमा गरेको साविती बयानका साथ साथै डीएनए परीक्षणलाई समेत आधार मानेर फैसला गरेका हुन् ।
जिल्ला अदालतले दिनेशलाई १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ । आज भन्दा एक बर्ष पहिले २०७७ माघ २१ गते भागरथी विद्यालय गएकी थिइन् । विद्यालयमा विदा भएपछि दिउँसो २ बजे उनी नजिकैको खोचलेक बजारमा पुगेको पुष्टि हुन्छ तर त्यसपछि सम्पर्कविहीन भएकी थिइन् ।
घरपरिवारले खोजी गर्दै जादाँ उनी हराउएको भोलि पल्ट मात्रै नजिकैको जंगलमा सडकबाट करिव सय मिटर तल उनको शव फेला परेको थियो । टाउकोमा चोट, घाटी दबिएको, अनि खुट्टाको औलामा घाउ भएको र गुप्तांगमा चोट लागेको अवस्थामा उनको शव भेटिएको थियो ।
शव नजिकै उनको मोवाइल फेला परेको थियो । घटनापछि पक्राउ परेका युवक दिनेश भट्टले आफूले भागरथीलाई धकेलेर लडाएको, त्यसपछि बाटो तल पु¥याएको र बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । प्रहरीमा गरेको बयान नफेरि उनले अदालतमा पनि उस्तै प्रकृतिको बयान गरे । दुवै ठाउँमा गरेको बयानका आधारमा जिल्ला अदालत बैतडीले उनलाई कसुरदार ठहर गरेको छ ।
अनुसन्धानका क्रममा प्रहरीले मृतकको भजाइनल स्वाब निकालेर परीक्षण गरेको थियो । जिल्ला अदालतले आरोपित भट्टमथि जबर्जस्ती करणी बलात्कारका साथ साथै हाडनाता करणी र ज्यान मारेको आरोपमा दोषी ठहर गरेको छ ।
मुलुकी अपराध संहिता २०७४ को दफा ४१ मा जबर्जस्ती करणी गरी ज्यान मारेमा जन्मकैदको सजाय गर्दा आरोपित जीवित रहे सम्म सजाय गर्नुपर्छ भन्ने व्यवस्था छ । तर हत्याको आरोप लागेका दिनेश नाबालक रहेको ठहर गर्दै जिल्ला अदालतले २५ वर्षको आधा अर्थात १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ ।