अत्तरिया - धनगढीमा जारी धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत आज पनि दुई वटा खेलहरु सम्पन्न भएका छन् । आज भइको खेलमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र विद्या भूषण गेटा विजयी भएका छन् ।
आजको पहिलो खेलमा काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुलले कञ्चनपुरको शारदा सरस्वती दोधारामाथि ७९ रनको सानदार जित निकालेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हिमालयन ह्वाइट हाउसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । १ सय ७४ रनको विजयी लक्ष पछ्याएर जवाफी ब्याटिङ थालेको शारदाका कुनै पनि ब्याट्सम्यान हिमालयनका बलर सामु टिक्न सकेनन् ।
उसले १७.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ दी म्याच अलराउण्ड प्रदर्शन गरेका राहुल भण्डारी घोषित हुँदा गेम चेन्जर अवार्ड पनि उनैले पाए ।
सर्वाधिक छक्काको अवार्ड भने दीपक बोहरा सिनियर, राहुल भण्डारी, वसन्त कार्की र अनुप कुँवरले पाए । आजै भएको दोस्रो खेलमा विद्या भूषण पब्लिक स्कुलले आयोजक लिटल फ्लावरलाई ५५ रनले पराजित गरेको छ ।
टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको विद्या भूषणले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनायो । १ सय ४४ रनको विजयी लक्ष पछ्याएको लिटल फ्लावरका कुनै पनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
उसले १७.६ ओभरमा अल आउट हुँदै ८८ रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ दी म्याच प्रदीप चन्द चुनिए । सर्वाधिक छक्काको अवार्ड प्रदीप चन्द र वीरेन्द्र नाथले पाउँदा गेम चेन्जर अवार्ड पनि वीरेन्द्र नाथले नै पाए ।
प्रतियोगिता अन्तरगत भोलि सोमबार पहिलो खेलमा एभरेस्ट एकेडेमी र शारदा सरस्वती तथा दोस्रो खेलमा सैनिक आवासीय र हिमालयन ह्वाइट हाउस प्रतिस्पर्धा गर्नेछन् । लिटल फ्लावरको जारी संस्करणको उपाधि उचाल्ने टिमले १ लाख ५० हजार र उप विजेताले ७५ हजार पुरस्कार पाउनेछन् ।