धनगढी - धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग विद्यालय स्तरीय अन्डर-१९ क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिन बुधबार एभरेस्ट एकेडेमी अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया विजयी भएका छन्। प्रतियोगितामा दुवै टिमको यो दोश्रो खेल खेल्दा दोश्रो जित हो।
धनगढी स्थित संघीय प्रहरीको खेल मैदानमा सम्पन्न पहिलो खेलमा एभरेस्ट एकेडेमीले सैनिक आवासीय माविलाई ६ विकेटले पराजित गर्यो।खेलमा सैनिक आवासीय माविले दिएको १०४ रनको लक्ष्य एभरेस्ट एकेडेमीले १६ ओभरमा ४ विकेट क्षेतीमा भेटायो।
एभरेस्ट एकेडेमीको लागि रितिक थापाले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ३६ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै कृष ऐरले अविजित २९ रन बनाए। रितिक र कृषले पाँचौ विकेटको लागि अविजित ६० रनको साझेदारी गरे। सैनिक आवासीयका बलर आकाश चन्दले दुई तथा खडक बोहरा र गौतम केसीले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको सैनिक आवासीयले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १०३ रन बनाएको थियो। उसको लागि गौतम केसीले सर्वाधिक ३१ तथा सगर चन्दले २१ रन बनाए। एभरेस्ट एकेडेमीका बलर गोविन्द बिस्टले सर्वाधिक ३ विकेट, धर्म जोशी र दिपक रोकायाले समान दुई विकेट र कृष ऐरले एक विकेट लिए।
खेलको प्लेयर अफ द म्याच गोविन्द बिस्ट घोषित भए। दिनको दोश्रो खेलमा सत्यवती एकेडेमीले बिद्याभुसन पब्लिक स्कुललाई ४ विकेटले पराजित गर्यो। विद्याभुसनले दिएको १२२ रनको लक्ष्य सत्यवतीले १६ ओभरमा भेटायो।
सत्यवतीको लागि अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका सन्तोष कार्कीले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३० बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै सुजन गौतमले १६ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३२ रन बनाए। आदील अन्सारीले १८ रन योगदान दिए। विद्याभुसनको बलिंगमा कप्तान शेर मल्लले दुई विकेट तथा बिरेन्द्र नाथ र अर्जुन साउदले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको विद्याभुसनले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२१ रन बनएको थियो। उसको लागि ओपनर प्रदिप चन्दले सर्वाधिक ३४, बिरेन्द्र नाथले २४ तथा नरेन्द्र साउदले १६ रन बनाए। अन्डर-१९ राष्ट्रिय क्रिकेटर अर्जुन साउदले १२ तथा शेर मल्लले ९ रन मात्र बनाउन सके। सरस्वति एकेडेमीका बलर सन्दिप खत्रीले सर्वाधिक तिन विकेट लिंदा आदील अन्सारी, निरज भट्ट र युवराज खत्रीले समान दुई विकेट लिए। खेलको प्लेयर अफ द म्याच सन्तोष कार्की घोषित भए।