काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणको पहलमा नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ ।
गृह मन्त्रालयमा (आज )शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्र बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृह सचिव टेकनारायण पाण्डे, कानुन सचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।
वार्तामा २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
“सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा सौहार्दपूर्ण तरिकाले छलफल भयो”, प्रवक्ता पोखरेलले भने ।
वार्तामा नेकपाका तर्फबाट प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्यकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाए ।
सरकारका तर्फबाट पनि अहिलेसम्म थुनामा रहेका नेकपाका कार्यकर्ता र मुद्दाको विवरण वार्तामा प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता पोखरेलले जानकारी दिए ।
यस भन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न गृहमन्त्री खाँणले निरन्तर वार्ता गरिरहेका छन् ।