कञ्चनपुर - कञ्चनपुरमा हिउँदे वर्षाले तरकारी खेतीमा क्षति र्पुयाएपछि तरकारीको मूल्य अकाशिएको छ । दुई साताको अवधिमा तरकारीको मूल्य दोब्बरले महँगिएको हो ।
महेन्द्रनग स्थित सब्जिमण्डीमा तरकारी किन्न आएका उपभोक्ताले केही दिनकै बीचमा सबैजसो तरकारीको मूल्य बढेको बताए ।
अहिले काउलीको मूल्य प्रतिकिलो १ सय, टमाटरको ८०, प्याजको ४० रुपैयाँ पुगेको छ । जबकि अहिले काउली र टमाटरकै सिजन हो । यसैगरी, हरियो खुर्सानीको १ सय, भेडे खुर्सानी १२० र आलुको मूल्य प्रतिकिलो ४० रुपैंया पुगेको छ ।
आलुबाहेक सबै तरकारीको मूल्य निकै बढेको व्यवसायीहरू पनि बताउँछन् । ‘ सब्जीमण्डीका तरकारी व्यवसायी वीरेन्द्रराज जोशीले एक हप्तामै मुल्य दोब्बर भएको बताए ।
उनका अनुसार अहिले महेन्द्रनगर बजारमा बन्दा, काउली, खुर्सानी, टमाटरलगायत तरकरी स्थानीय क्षेत्रबाटै उत्पादन भई आइरहेको छ ।
तर सिजनमै वर्षाले क्षति पुगेपछि किसानसमेत चिन्तामा छन् । यसअघि कात्तिक पहिलो साता पनि वर्षाले हिउँदे तरकारीमा निकै क्षति पुगेको थियो ।
अहिले सिजनको पहिलो लट उत्पादन सकिएर दोस्रो लटको उत्पादन बजारमा आइनसकेको अवस्थामा मुल्य एकाएक बढेको सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले बताए ।