टिकापुर - नेपाली काँग्रेस कैलालीले टीकापुर नगरपालिकाका ३ वडा अध्यक्षसहित १५ जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिश गरेको छ ।
नेपाली काँग्रेस कैलालीले दिएको जानकारी अनुसार टीकापुर नगरपालिका वडा नं.–३ का वडाध्यक्ष रामसेवक महतो, वडा नंं.–४ का वडाध्यक्ष लालबीर चौधरी, वडा नं.–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारू, कार्यपालिका सदस्य रमेश विश्वकर्मा, वडा नं.–३ का वडा सदस्य बिना थारू, भागीदेवी कामी, वडा नं.–४ वडा सदस्य तुलसादेवी विश्वकर्मा, प्रेमलाल चौधरी, रूपमती डगौरा थारू, वडा नं.–५ वडा सदस्य बलबीर थारू चौधरी, कन्हैया चौधरी, आशा थारू, सरिता भूल, वडा नं.–६ वडा सदस्य रामशङ्कर चौधरी, जमुना चौधरीलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिश पठाइएको हो ।
नेपाली काँग्रेस टीकापुर नगर कार्य समितिको माघ १४ गतेको निर्णय, क्षेत्र नं.–१ प्रदेश सभा ‘क’ कार्य समितिको सिफारिश, क्षेत्र नं.–१ क्षेत्रीय कार्य समितिले माघ १८ गतेको सिफारिश पत्र अनुसार जिल्लाका कार्यवाहक सभापति प्रकाश बमले निर्वाचन आयोगमा उनीहरूलाई पदमुक्त गर्न सिफारिश पठाएका हुन् ।उनीहरू सबै हालै गठित कैलाली क्षेत्र नं.–१ का निलम्बित साँसद रेशमलाल चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।