विराटनगर- मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दूरविनको माध्यमबाट पहिलो पटक ढाडको नसा च्यापिएको समस्याको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङसिंह धिमालको दूरविनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
अस्पतालको न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले नेतृत्वको टोलीले सफलतापूर्वक शल्यक्रिया गरिएको हो । काठमाडौं उपत्यकाबाहिर पहिलो पटक दूरविनको माध्यमबाट यस्तो शल्यक्रिया भएको डा. काफ्लेले बताए ।
‘मेरुदण्डमा नसा च्यापिँदा सामान्य अवस्थामा औषधि दिइन्छ, अपरेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ । तर, दूरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अपरेशन कमै हुन्छ‚’ उनले भने, ‘काठमाडौं उपत्यकाबाहिर पहिलो पटक हामीले यस्तो अपरेशन सफलतापूर्वक गरेका हौ ।
’धिमालको ढाडमा सानो प्वाल बनाएर दूरविनको साहायताले अपरेशन गरिएको हो । दूरविनको माध्यमबाट अन्य किसिमका अपरेशन भइरहन्छन् ।
नोबेलमै पनि दूरविनको प्रयोग गरेर अपरेशन हुँदै आएको छ । तर, ढाडको नसा च्यापिएको समस्याको अपरेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन । दूरविनको माध्यमबाट ढाडको नसा च्यापिएको अपरेशन गर्दा सानो घाउ हुँने भएकाले बिरामीलाई निकै सहज हुन्छ ।
सानो घाउ हुनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै बिरामी घर जान सक्ने चिकित्सकहरु बताउँछन ।