अत्तरिया - कोरोना महामारीको तेस्रो लहर बढेपछि बन्द गरिएका विद्यालयहरु फागुन महिनादेखी खोल्नुपर्ने सुझाव आएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीले शुक्रबार सरोकारवालासंग गरेको छलफलका क्रममा सरोकारवालाहरुले फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएका हुन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले सीसीएमसीसीले बन्द बिधालयबारे के गर्दा उपयुक्त हुन्छ भनेर राय र सुझावहरु लिएकोमा अधिकांशबाट विद्यालय खोल्नुपर्छ भन्ने सुझाव आएको बताए । छलफलमा अब सिंहदरबारले नै सबै जिल्लाको विद्यालय खोल्ने, बन्द गर्ने निर्णय गर्न नहुने सरोकारवालाले जोड दिएको उनको भनाइ छ ।
अब विद्यालय सञ्चालनको विषयमा डीसीसीएमसीको समन्वयमा स्थानीय तहले विद्यालय बन्द गर्ने अथवा सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्ने समेत सरोकारवालाहरुले सुझाव दिएका छन् ।
७० प्रतिशत विद्यार्थीलाई खोप लगाइएको र लामो समयसम्म बालबालिकालाई विद्यालय बाहिर राख्नुहुँदैन भनेर माघ अन्तिमसम्म तयारी गरेर फागुनदेखि विद्यालय खोल्नुपर्ने सुझाव दिएको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
छलफलमा शिक्षा मन्त्रालयका प्रवक्ता, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, संघीय मामिला मन्त्रालयका प्रतिनिधि, अभिभावक महासंघका, प्याब्सन, एन प्याब्सन, गाउँपालिका महासंघका अध्यक्षहरु सहभागी थिए ।