बझाङ - जिललाको दुर्गम भेगमा खाद्य सामग्री ढुवानी गरिएको छ । बाक्लो हिमपातका कारण ढुवानी रोकिएपछि खाद्यान्न संकटमा परेको साइपाल गाउँपालिकाका दुर्गम भेगमा खाद्य सामग्री ढुवानी गरिएको हो ।
खाद्य व्यवस्था कम्पनीले भेडाच्याङ्ग्रामार्फत चामल ढुवानी गराएपछि त्यहाँ तत्कालका लागि खाद्य संकट टरेको छ । साइपाल गाउँपालिकाको वडा नं ३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा नं ४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा नं ५ को न्युनामा भेडाच्याङ्ग्रा मार्फत चामल ढुवानी गरिएको खाद्य व्यवस्था कम्पनीले जनाएको छ ।
साइपाल गाउँपालिकाका उत्तरी गाउँहरूलाई जोड्ने रस्यालेक पानीलोट्या ठाउँको करिब पाँच किलोमिटर बाटोमा बाक्लो हिउँ जमेको छ । हिउँको कारण खच्चडबाट ढुवानी हुन नसकेपछि भेडाच्याङ्ग्रामार्फत चामल त्यसतर्फ पठाइएको हो ।
अहिले सबै वडामा चामल पुगिसकेको ढुवानीको जिम्मा लिएका ठेकेदार कम्पनी कृष्ण भण्डार एन्ड सप्लायर्सका दलबहादुर विष्टले बताए ।
उनले खाद्य संकटको सबैभन्दा बढी जोखिम रहेको वडा नं ५ मा पर्ने न्युनागाउँका ३५ परिवारलाई प्रतिपरिवार ६० किलो पुग्ने गरी चामल ढुवानी गरेर वितरण गरिसकिएको जानकारी दिए ।
यस्तै धुली र काँडामा पनि केही महिनाका लागि पुग्ने पर्याप्त खाद्यान्न ढुवानी भइसकेको उनको भनाइ छ । खाद्य संकटको जोखिममा रहेका यहाँका स्थानीयहरूले गाउँमा चामल पुगेपछि राहतको सास फेरेका छन् ।
खाद्यान्न अभावका कारण केही हप्तासम्म यहाँका स्थानीयहरूले दिउँसो एक छाक मात्र खाना खाने गरेको बताउँदै उनले चामल पुगेपछि यहाँका मानिसहरू निकै खुसी भएको बताए ।