डोटी - हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ ।
हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायलले जानकारी दिएको छ ।
यसअघि यो मुद्दामा राजकुमारलाई बाजुरा जिल्ला अदालतले निर्दोष रहेको भनी सफाइ दिएको थियो । राजकुमारमाथि भाउजु नाता पर्ने युवती ९परिवर्तित नाम रिंकु० बलात्कार गरेको आरोप थियो ।
बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । राजकुमारले बच्चा जन्मिने बित्तिकै मारिदिनु भन्दै दबाव दिँदै आएको पीडित पक्षको आरोप थियो ।
कुनै समस्या आए आफू जवाफदेही नहुने भन्दै पटक पटक राजकुमारले दबाव दिएपछि युवतीले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् ।
मंगलबार उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।
युवतीलाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ ।
मुद्दामा विषादी जडिबुटी ल्याई बालकलाई खुवाउन रिंकुलाई सहयोग गरेको आरोपमा एक महिलालाई ६ महिना कैद सजाय सुनाएको छ ।
भर्खरै जन्मेको शिशु हत्यामा गर्भ बोकाउने व्यक्तिलाई जन्मकैद हुने सजाय भएको यो सम्भवतः नौलो फैसला हो ।
शिशु हत्याका अधिकांश मुद्दाहरूमा बालक जन्माउने आमालाई मात्र दोषी ठहर गर्ने गरेकोमा उच्च अदालतले गर्भ बोकाउने व्यक्तिलाई मुख्य कसूरदार ठहराएको हो ।
लैङ्गिक न्यायको दृष्टिकोणबाट यस्तो अपराधमा जन्माउने आमाभन्दा शिशु मार्न बचन दिने बाबुको आपराधिक कार्यमा बढी जिम्मेवारी हुने अदालतको बुझाइ छ ।