बैतडी - जिल्ला प्रशासन कार्यालय बैतडीले आचरणविपरीत काम गरेको भन्दै २२ जना वडासचिवलाई स्पष्टीकरण सोधेको छ । व्यक्तिगत घटना अनलाइनमा दर्ता नगरेको, २० वर्ष नपुगेकाको विवाह दर्ता गरेकालगायत कारण स्पष्टीकरण सोधिएको कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
सुर्नया गाउँपालिकाका ६ वडा, दशरथचन्द नगरपालिकाका २ वडा, पाटन नगरपालिकाका ५ वडा, दोगडाकेदार गाउँपालिकाका २ वडा, डिलाशैनी गाउँपालिकाका २ वडा, मेलौली नगरपालिका २ वडा, सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका एकरएक वडाका सचिवलाई स्पष्टीकरण सोधिएको हो ।
राष्ट्रिय पञ्जीकरण विभागले व्यक्तिगत घटना अनलाइनमा दर्ता गर्नुपर्ने नीति बनाए पनि बैतडीका धेरै जसो वडामा अनलाइन दर्ता नभएकाले स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए।
धेरै जसो वडा सचिवले कानुन नै नपढी हचुवाका भरमा व्यक्तिगत घटना दर्ता गरेको पाइएकाले स्पष्टीकरण सोधिएको उनको भनाइ छ।
नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुग्ने नागरिकका लागि जन्मदर्ता, विवाहदर्तालगायतका कागजपत्र चाहिने र ती कागजपत्र अनलाइनमा भरेको हुनुपर्ने भए पनि त्यसो नगरेका वडा सचिवहरूलाई स्पष्टीकरण सोधिएको सूचना अधिकारी भारतीले बताए ।
पहिलोपटक स्पष्टीकरण सोध्ने र दोहोरिँदै गए कारवाही गरिने उनको भनाइ छ ।