अत्तरिया - आज कुशे औँशी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ लगेको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
भाद्र कृष्ण औँशीका दिन मनाइने कुशे औँशी पर्वमा उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने छ भन्ने शास्त्रीय मान्यता रहिआएको छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेको धार्मिक विश्वास छ ।
यसैबिच कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
यो पर्वमा छोरा छोरीहरू परम्पराअनुसार आ–आफ्ना बुवालाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने मान्यता रहेको छ ।
आजको दिनमा थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले यस दिनलाई पुण्य पर्व पनि भनिन्छ । कुशे औंसी पर्व अझै धेरैनै महत्व बोकेको पर्व हो ।