अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाले नजिकिदै गरेको हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तिजको अबसरमा नगरपालिका स्तरिय तिज प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । गोदावरी नगरपालीकाकी कार्यवाहक नगरप्रमुख रत्ना कडायतको सभापतित्वमा विहिवार सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री माया भट्ट प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ठ अतिथिमा सुदुरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडाल र प्रदेश सांसद चुनकुमारी चौधरी रहनुभएको थियो ।
अत्तरियामा रहेको पतञ्जली योग समितिको सभाहलमा आयोजना गरिएको कार्यक्रममा तिज प्रतियोगीताका लागी नगर भित्रका विभिन्न १४ वटा संघसंस्थाका टिमहरुको सहभागीता रहेको थियो । जसमा जिवनज्योती महिला बिकाश बहुउद्देश्यिय सहकारी संस्था तेघरीको टिम प्रथम, सचेतना आमा समुह द्वितिय र नगर स्तरिय एकल महिला समुह तृतिय भएका थिए । यस्तै कमला कैनी सान्त्वना भएकी थिईन ।
प्रतियोगीताको प्रथम टिमले नगद ५ हजारका साथै प्रमाणपत्र प्राप्त गरेको थियो भने द्वितिय हुने टिमले नगद ३ हजार प्रमाणपत्र र तृतिय हुने टिमले नगद २ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । सान्त्वना भएकी कमला कैनीले नगद १ हजारका साथै प्रमाणपत्र प्राप्त गरिन् । सहभागी टिमहरुले परम्परागत संस्कृति झल्काउने लोकनृत्य एवम् गितहरु प्रस्तुत गरेका थिए । यसका साथै कार्यक्रममा हास्यकलाकार डम्बर उपाध्यायले जनताले भोग्नुपरेका समस्याका बारेमा हास्यब्यङ्ग्य प्रस्तुती मार्फत सरकारलाई जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्री माया भट्टले देशको समृद्विको लागी महिलाहरुको भुमिका अहम रहेको बताइन् । उनले सो कुरा सबैमाँझ दर्शाउन महिलाहरु एक ढिक्का भएर अघि बढ्नुपर्ने बताइन् । ‘महिलाहरु राजनितिमा मात्रै होइन ब्यापार,व्यावसाय ,उद्योग कलकारखाना पर्यटन एवम् रोजगार लगायतका कुराहरुसँग पनि जोडिनु पर्छ’ उनले भनिन् – ‘महिलाहरु कुनै न कुनै क्षेत्रमा जोडिएर अग्रसर बन्दै गएभने देश आफै समृद्व बन्ने छ ।’
सुदुरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशी बडालले पछिल्लो समय तिज पर्व महिला दिदिबहिनीहरु बिचको दुख सुख बिसाउने थलो भएकाले यसलाई भड्कीलो तरीकाले भन्दा पनि शान्त एवम् साधारण तरिकाले मनाउन सम्पुर्ण महिलाहरुलाई आग्रह गरिन् । यस्तै कार्यक्रममा बोल्दै प्रदेश सांसद चुनकुमारी चौधरीले सुदुरपश्चिममा रहेको कला , धर्म , संस्कृति , परम्परागत र पर्वहरुलाई जोगाइ राख्न स्थानिय र प्रदेश सरकारले गर्दै आइरहेका कार्यक्रमहरु एकदमै प्रशंसायिन रहेको बताइन् ।
महिलाहरुको मुख्य पर्वका तिजका माध्यमबाट महिलाहरुमा मेलमिलाप एवम् सद्भाव कायम हुने गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी कार्यबाहक नगरप्रमुख रत्ना कडायतले महिलाहरु बिच एक आपसमा भेटघाट , माया प्रेम दुखसुख साटासाट गर्न कार्यक्रम आयोजना गरिएको बताईन । उनले सामाजिक सद्भाव कायम गर्ने र आफ्नो सस्कृति रहनसहन परम्परालाई जगेर्ना गरी घरको चुलो चौकोमा मात्र सिमित हुने महिलाहरुलाई कार्यक्रमका माध्यामवाट केहि नयाँ कुराहरु जान्न बुझ्न सहज होस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताईन ।
आगामी दिनहरुमा पनि यस्ता सामाजिक सद्भाव कायम गर्ने कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताइन् । कार्यक्रममा गोदावरी नगरपालीका वडा नं. २ का वडाध्यक्ष कृष्णराज जोशी, वडा नं. ५ का वडाध्यक्ष कर्ण बहादुर बोहोरा, बडा नं. ९ का वडाध्यक्ष लहानु चौधरी, ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपि ज्ञानबहादुर बिष्टका साथै गोदावरी नगरपालिकाका कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानियहरुको उल्लासपुर्ण सहभागिता रहेको थियो ।
गोदावरी नगरपालिकाको महिला शाखाको आयोजनामा भएको कार्यक्रमा जिवनज्योती महिला विकास सहकारी संस्था, विश्वज्योती महिला बिकास सहकारी संस्था , सृजनशिल महिला बिकास सहकारी संस्था , प्रगती महिला सहकारी संस्था , दीदी बहिनी कृषक महिला समुह, दलित महिला अधिकार मंञ्च नेपाल लगाएतका संघसंस्थाहरु सह आयोजक रहेका थिए ।
कार्यपालिका सदस्य ईश्वरा आचार्य नेतृत्वको समुहले स्वागत गीत प्रस्तुत गरेको थियो भने गोदावरी नगरपालिकाकी महिला शाखा निरिक्षक गोदावरी खत्रीले कार्यक्रमको बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार चित्रा नौन्याल र गोमा ढकालले गरेका थिए ।