कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेलडाँँडीमा गुणस्तरहीन सामग्रीको प्रयोग गरी ड्रेन निर्माण गरिएको पाइएको छ ।
बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकखण्डअन्तर्गतको बेलडाँडीमा सडक किनारामा निर्माण भइरहेको ड्रेनमा कमसल खाले बालुवा, इँटा र सिमेन्टको मात्रा तोकिएको मापदण्डअनुरुप राखेको नपाइएपछि वडाध्यक्ष बहादुर महराले सम्बन्धित सरोकारवालाको रोहवरमा ड्रेन भत्काएका छन्।
सन्तोष थेगिम जेभी नामक निर्माण कम्पनीले ठेक्का प्रक्रियामार्फत ड्रेनसहितको सडक निर्माण गरिरहेको छ।
“पटक–पटक गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरी तोकिएको समयमा निर्माण सम्पन्न गर्न आग्रह गर्दा निर्माण कम्पनीले जिम्मेवारीपूर्वक काम अगाडि बढाएन”, वडाध्यक्ष महराले भने, “विभिन्न बहानाबाजी गर्दै अटेरी गर्दै आएको छ। निर्माणमा ढिलासुस्तीसँगै कमसल निर्माण सामग्री प्रयोग गर्न थालेपछि बाध्य भएर ड्रेन भत्काएका छौँ।”
“निर्माण समयमै सञ्चालन गरी तोकिएका मापदण्ड समयसीमा र गुणस्तरयुक्त कार्य गर्ने निर्माण व्यवसायीको सम्मान गर्दछौँ। निर्माण व्यवसायीको प्रतिष्ठा र निर्माण व्यवसायको बदनामी हुने कार्यमा संलग्न निर्माण व्यवसायीलाई प्रचलित कानुनअनुसार कारबाहीका लागिसमेत माग गरेका छौँ”, उनले भने।
निर्माण कम्पनीका प्रतिनिधि नारायण कँडेलले भने ड्रेनलगायत निर्माणमा गुणस्तरीय निर्माण सामग्रीको प्रयोग भइरहेको दाबी गर्नुभएको छ। “सडक निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोग गरेको पाइए निर्माण व्यवसायीलाई कारबाही हुन्छ”, भौतिक पूर्वाधार कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमराज भट्टले भने, “अनुगमन गर्छौँ, ठेक्का सम्झौताबमोजिमको काम गरेको हुनुपर्छ।
त्यसविपरीत गरिएको छ भने कारबाही हुन्छ।” आव २०७७÷७८ मा बन्साहा, कलुवापुर, दोमिल्ला जोड्ने सडकका लागि सुदूरपश्चिम सरकारको भौतिक पूर्वाधार कार्यालय महेन्द्रनगरले ११ करोड ६३ लाखमा ११ किलोमिटर सडक निर्माणका लागि ठेक्का सम्झौता गरेको छ। रासस