अत्तरिया - स्थानिय तहका जनप्रतिनिधिहरुले जनताको सेवा भन्दा पनि आफ्नै सेवा सुबिधा थपिरहेको आरोप लागिरहेको बेला कैलालीको गोदावरी नगरपालिकाले दुई बर्षको अबधिमा लाखौ मुल्यका सवारी साधानहरु खरिद गरेको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका सेवा सुबिधाका लागि मात्रै ५२ लाखका सवारी साधनहरु खरिद गरेको हो ।
१२ ओटा वडा रहेको यस नगरपालिकामा जनप्रतिनिधिहरु चुनिएर आइसकेपछि प्रत्येक वडाका वडाध्यक्ष र कर्मचारीका लागि मोटरसाईल खरिदमा मात्रै ५२ लाख ३ हजार ८ सय ७२ रुपैया खर्च भएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता एबम् वडा नं १ वडा अध्यक्ष शर्मानन्द भट्टका अनुसार हाल नगरपालिकाले नयाँ २७ र पुराना ३ गरेर ३० ओटा मोटसाईकलहरु खरिद गरेको छ ।
१२ वटा वडाअध्यक्षलाई १२ मोटरसाईकल वितरण गरिएको छ भने २ प्रहरी चौकीलाई र बाकि नगरपालिकाका कर्मचारीहरुले प्रयोग गर्ने गरेको प्रवक्ता भट्ट जानकारी दिए । दुई देखी दुई लाख पचाँस हजार मुल्य पर्ने ति मोटरसाईकलहरु १२५ र १५० सिसिका रहेका छन् । यस्तै नगरपालिकाले गत बर्ष १७ लाख पर्ने एउटा ट्याक्टर र १० लाख पर्ने एउटा एम्बुलेन्स पनि खरिद गरेको छ ।
नगरप्रमुख हरि सिं साउँद शहरी विकास आयोजनाका प्राप्त भएको टाटा स्टिमको गाडी चढ्छन् भने उप प्रमुख नगरपालिकामा रहेको पुरानै गाडीमा चढ्ने गर्दछिन् । सबै गाडीहरुमा इन्धनको सुबिधा पनि नगरपालिकाले उपलब्ध गराउदै आएको छ ।
आफुले पाएको मोटरसाईकल स्वास्थ्य क्लिनिकलाई
गोदावरी नगरपालिकाका १२ ओटा वडा मध्ये अधिकंश वडा अध्यक्षसंग आफ्नै मोटरसाईकल रहेको छ । ति मध्ये कतिपयले आफुले पाएको मोटरसाईकल आफ्नो वडाका स्थानियहरुको सहजताका लागि स्वास्थ्य संस्थाहरुलाई प्रदान गरेका छन् भने कतिपयले सत मोटरसाईकल वडा कार्यालयर्म थन्क्याएर राखेका छन् ।
गोदावरी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले आफुले मोटसाईकल पाउने बित्तिकै चापमा रहेको शहरी स्वास्थ्य क्लिनिकलाई प्रदान गरेको बताए । उनले वडा नं १२ को निकै बिकट ठाँउ चापमा कोहि बिरामी हुदाँ अस्पताल सम्म पुञ्याउन निकै कठिनाई भैरहेको देखेपछि आफुले बिरामीहरुको सहजताका लागि आफुले पाएको सुबिधा स्वास्थ्य क्लिनिकलाई प्रदान गरेको बताए ।
त्यहाको कोहि मान्छे बिरामी भयो भने यता तल अस्पताल सम्म पुञ्याउन निकै कठिन हुने गर्दछ उनले भने पहिला पहिला कोहि बिरामी भए डोकोमा हालेर ल्याउने गर्दथ्ये अहिले भने मोटरसाईकलमा ल्याउने गर्दछन् ।
कार्यालयमै थन्किए मोटसाईकल
वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशीले भने नगपालिकाले दिएदेखि मोटरसाईकल त्यतिकै वडा कार्यालयमा थन्क्याएर राखेका छन् । वडा अध्यक्ष जोशीले अति आवश्यक परेको समयमा वडाका कर्मचारीहरुले चलाउने भएपनि अन्य समयमा भने कार्यालयमै थन्किने गरेको बताए । आवश्यक छैन खाली किन चलाउने उनले भने आवश्यक परेको बेला कर्मचारीहरुले चालाउँछन् नत्र भने कार्यालय भित्र राख्ने गरेका छौ ।
यस्तै वडा नं ६ वडा अध्यक्ष विर बहादुर चोखालले पनि काम परेको बेला मात्रै नगरपालिकाको मोटसाईकल प्रयोग गर्ने नत्र धेरै समय कार्यालयमै थन्किने गरेको बताए । वडा नं १० का वडा अध्यक्ष रविन्द्र शाहिले आफुले पाएको मोटरसाईकल आफुले प्रयोग नगरेपनि वडा हुने कार्यक्रम र विकासका योजनाहरुको अनुगमनका लागि वडा सदस्य तथा कार्यालयका कर्मचारीहरुले प्रयोग गर्ने गरेको बताए ।
अन्य वडाका वडा अध्यक्षहरुले भने आफुहरुले नगरपालिकावाट पाएको मोटसरसाईललाई नियमित प्रयोग गरिरहेको बताएका छन् ।
नगरबासीको भनाई
चुनावका बेला निस्वार्थ भई जनताको सेवामा लाग्ने भनेर चर्का नारा दिएका जनप्रतिनिधिहरू आजभोली आफ्नै सेवा सुबिधाको भोगी भैरहेको स्थानिय नगरबासीहरु बताउँदछन् । स्थानिय सरकारलाई यातायातका साधन आवश्यक भए पनि आवश्यकता भन्दा बढी मात्रामा खरिद गरिनुले जनप्रतिनिधिहरू सेवा भन्दा पनि बिलासिताका भोगी जस्तै देखिने गरेको स्थानियहरुको भनाई छ ।
गोदावरी नगरपालिकाले हाल सम्म ३० वटा माटरसाईकल , ५८ वटा साईकल , एउटा पिकअप जिप , एउटा सानो एउटा ठुलो टिप्पर , जेसिवी एउटा, दमकल एउटा , एम्बुलेन्स एउटा , ट्याक्टर एउटा लगाएतका गरेर ३ करोड २२ लाख २ हजार ८ सय ७० रुपैयाका सवारी साधानहरु खरिद गरेको छ ।