डडेल्धुरा - जिल्लाका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ। पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन् ।
गत कात्तिक पहिलो साता पहिराका कारण घरवारविहीन बनेका अजयमेरु १ का केशव पार्कीका परिवार हालसम्म पनि अर्काकै घरमा आश्रित छन्। नातिनातिनासहित छ जनाको परिवार छिमेकीको जीर्णघरमा बस्दै आएका उहाँ बढ्दै गएको चिसोले झन् पीडा बल्झाएको दुःखेसो पोख्छन्। उनको पहिराले लगााउने लुगादेखि खाद्यान्न र गोठमा रहेका गाईवस्तुसमेत अत्तोपत्तो चलेको थिएन।उनले भने,“ तत्कालका लागि राहातस्वरुपको २० हजारबाहेक अन्य सहयोग भएको छैन। तीन महिना बढी भइसक्यो पुनःस्थापनाका लागि कुनै सुनुवाइ भएको छैन।
” त्यसैगरी जिल्लाका अन्य क्षेत्रका बाढीपीडितको अवस्था पनि त्यही छ। गन्यापधुरा १ का दर्जन बढी परिवार पनि घरवारविहीन बनेका थिए। अमरगढी १ का दर्जन बढी परिवार पहिरा जोखिमले गर्दा गाउँ नै अन्यन्त्र सानुपर्ने माग गर्दै आएका छन्। त्यसैगरी परशुरामका बाढीपहिरो पीडितको अवस्था पनि ज्यूँका त्यूँ छ।सरकारले गत असोज–कात्तिकमा आएको बाढीबाट प्रभावितलाई पुनःनिर्माण र पुनःस्थापना गर्ने भन्दै १० जिल्लाका ३३ स्थानीय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषण गरेको पनि महिनौँ बितिसक्यो। मङ्सिर २१ गते माघभित्रै कार्यक्रम सञ्चालन गर्ने गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। अहिलेसम्म स्थानीय तहको राम्ररी तथ्याङ्कसमेत सङकलन हुनसकेको छैन भने पुनःनिर्माण र पुनःस्थापनाको कुनै पनि सुरुआत हुनसकेको छैन।
बाढीपहिरापीडित अहिले पनि टहरामै बस्न बाध्य छन्। माथिबाट आएको राहत वितरण तत्कालै भइसकेको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, अन्य काम पनि चाँडै सुरुआत हुुन्छ। उनले मृतका घरपरिवारलाई दुई लाखका दरले र घर पूर्ण क्षति भएका मानिसको अवस्था हेरी २० हजारसम्म नगद राहत उपलब्ध गराएको जनाए।सरकारले यहाँका पाँच पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनःनिर्माण सुरु हुनसकेको छैन।
घोषणाअनुसार विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा पीडितलाई पुनःस्थापना गरिनुपर्नेमा कुनै काम सुरु भएको छैन। स्थानीय तहमा पुगेको क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर, सडक, खानेपानी, सिँचाइ, विद्यालय आदि निर्माण गरिने प्राधिकरणले बताएको थियो। विपद्ग्रस्त घोषणा भएपछि क्षतिग्रस्त संरचना पुनःनिर्माण हुने भन्दै स्थानीयवासी उत्साहित भएका थिए। तर घोषणा अवधि (माघ मसान्त) सकिन एक महिनामात्रै बाँकी हुँदासम्म पनि पुनःनिर्माणको काम सुरु हुने कुनै छाँटकाँट नदेखिएको पहिराले क्षति पुर्याएको गाणेशपुर मावि वडालका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मालीले बताए।
घोषणा कागजमै सीमित हुने देखिएको छ, बाढीपहिरापीडितले पनि कष्टपूर्ण जीवन जिउन बाध्य रहेको गन्यापधुरा १ अशिग्रामका पहिरापीडित पदमबहादुर देउवाको भनाइ छ। उनी भन्छन्, “पुनःस्थापनाको काम चाँडै गरिनुपर्छ, अब धेरै पीडा सहन सकिँदैन।”जिल्लाभर पहिराका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन्। अजयमेरु १ मुद्राड खोली बस्ने केशव पार्की पनि मुक्त हलिया हुन्। उनी ‘क’ वर्गको परिचय प्राप्त मुक्त हलिया हुन्।
पहिरामा परेको उनको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएका हुन्। तर उक्त घर नै पहिराले लगेपछि उनको कुनै सम्पत्ति बाँकी छैन।पहिरामा परी जिल्लाका तीन जनाको ज्यान गएको थियो। जिल्लाभर तीन दर्जन बढी घर पूर्ण क्षति भएका थिए भने पशुचौपायाका साथै अन्य गरी करोडौँ क्षति भएको थियो। पीडित अहिले पनि पुनःस्थापनाको आशामा कष्टकर जीवन निर्वाह गरिरहेका छन्। हिउँदो चिसो छल्न र स्थायी बासका लागि सरकारसँग अपिल गरिरहेका छन्।रासस