डडेल्धुरा – डडेल्धुरामा गौरा महोत्सवको रौनक बढेको छ । सदरमुकाम बागबजार बसपार्कमा सोमबार देखि ‘राष्ट्रिय गौरा महोत्सव २०७६’ शुरु भएपछि डडेल्धुरा गौरामय भएको हो ।
गौराको मेला भर्नको लागि जिल्लाका प्रत्येक गाउँबस्ती तथा छिमेकी जिल्ला बैतडी, डोटी, दार्चुला तथा तराईका दुई जिल्ला कैलाली, कञ्चनपुरबाट पनि सयौँको संख्यामा श्रद्धालुहरु डडेल्धुरा पुगेका गौरा महोत्सव मूल व्यवस्थापन समिति तथा राधाकृष्ण मन्दिर विकास समिति बसपार्क डडेल्धुराका अध्यक्ष देवराज भट्टले बताए ।
अन्य बर्षको तुलनामा यो बर्षमा दर्शकहरु बढेका उनले बताए । संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्वसको आयोजना गरिएको उनको भनाइ छ । महोत्सवमा प्रतिस्पर्धात्मक गौरानाच, वालोनाच, चैत धुमारी, फाग, घुइचम्फा, हुड्केली, महिला तथा पुरुष देउडा प्रतियोगीताहरु भइरहेका छन । महोत्सवको रौनक बढाउन देउडाको विशेष प्रभाव परेको देखिन्छ ।
पञ्चमी देखि सुरु भएको गौरा पर्व अष्ठमीका दिन विशेषरुपमा मनाउने चलन छ । तर पछिल्लो समय संस्कृतिको जगेर्ना गर्ने भन्दै यो पर्वलाइ महोत्सवका रुपमा मनाउन थालिएको हो । यो पर्वमा गौरा (पार्वती) र महादेव (शिव) को पूजा गर्ने चलन छ । गौरा पर्वमा गौरा–महादेवको पूजा गर्नाले घरपरिवारमा अमनचयन कायम हुने विश्वास गरिएको छ ।
गौरा पर्वको विशेष खानाको परिकारका रुपमा बिरुडालाइ लिइन्छ । बिरुडामा केराउ, गहत, गुरास, मास र गहुँ भिजाइन्छ । उक्त बिरुडा दोस्रो दिन पधेँरोमा धोइन्छ । धोएको दोस्रो दिन गौरा घरमा शिव पार्वतीको प्रतिमा (गौरा) बनाएर बिरुडाले पूजा गरिन्छ । पूजा गर्दा शिव पार्वतीका प्रेम गाथा पनि गाइने डडेल्धुराका श्रद्धालु महिला राधादेवि उप्रेतिले बताइन ।
गौरा अवधिभर सुरक्षा संयन्त्र पनि मजबुद बनाइएका डडेल्धुरा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए । राष्ट्रिय गौरा महोत्सवको ‘विहिबार’ भोलि एक कार्यक्रमका बिच समापन गरिने छ ।