अत्तरिया – सुनको मूल्य आकाशिए सँगै अत्तरियामा सुनचाँदीको व्यापार घटेको छ । अरु बेलाको तुलनामा सुनचाँदीको व्यापारमा कमि आएको सुनचाँदी व्यवसायिहरुले बताएका छन । सुनको मुख्य कारोबार हुने समयमै अहिले सुनको कारोबारमा कमि आउँदा सुनचाँदी व्यवसायी मारमा परेका छन ।
सुन पसलमा अहिले सुन किन्ने भन्दा पनि सुनको गहना बेच्नेहरुको संख्या बढिरहेको छ । बिगतका बर्षहरुमा चाडपर्वको समयमा सुनको कारोबार बढी हुने गरेको भएपनि तुलनात्मक रुपमा यो बर्ष निकै कम भएको व्यवसायीहरुले बताएका छन ।
नवदुर्गा सुनचाँदी पसल अत्तरियाका संचालक दिपक पौडेलले सुनको मूल्य अस्थिर बनेपछि सुनका गहना बनाउनेहरुको संख्या निकै घटेको बताए । बुधबार सुन प्रतितोला ७३ हजार ८ सयमा कारोवार भैरहेको उनले बताए । छापावाल सुन प्रतितोला ७३ हजार ८ सय मूल्यमा कारोबार भएको छ भने तेजाबी सुन ७३ हजार ५ सय रुपैयामा कारोवार भैरहेको छ । चाँदी प्रतितोला ९ सय ६० रुपैयाँमा बिक्री गरिएको पौडेलले बताए ।
न्यु अनुपम सुन चाँदी गहना पसल संचालक टैक बहादुर सोबले नेपाल सुनचाँदी व्यवसायि महासंघमा तोकिएको सुनको मुल्य भन्दा प्रतितोला १२ सय रुपैयाले बढाएर अत्तरियामा बिक्रि गर्ने गरेको बताए । उनले ढुवानि खर्च वाफतको रकम जोडेर आफूहरुले सुनचाँदीको मुल्य तोकेको बताए ।
सुनको दैनिक मूल्य बढ्ने क्रम जारी रहेको छ । सुनको मूल्य अस्थिर बन्दा व्यवसायीहरु मारमा परेका छन । मूल्य अत्याधिक भएपछि सुनचाँदीको कारोबार हुने सिजनको बेलामा पसल सुनसान जस्तै बनेका छन ।
१० बर्षमा ६४ प्रतिशतले बढ्यो सुन
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार २०६६ कार्तीक महिनामा सुन प्रतितोला २६ हजार रुपैयाँमा कारोबार भएको थियो । लगभग त्यसको १० बर्ष पछि अहिले सुनको मुल्य ७२ हजार ६ सय पुगेको छ । पछिल्लो दश बर्षमा सुन ६४ दशमलव १८ प्रतिशतले बृद्धि भएको छ ।
त्यसैगरि महासंघको तथ्यांक अनुसार ९ मंसिर २०६७ मा आइपुग्दा मूल्य बढेर ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । तथ्यांकअनुसार २०६८ मा सुनको मूल्य कात्तिक २३ सम्म आइपुग्दा प्रतितोला ४७ हजार पुगेको थियो ।
महासंघको तथ्यांक अनुसार २०६९ मंसिर १० मा प्रतितोला ५३ हजार पुगेको सुन २०७० मा प्रतितोला ५४ हजार पुगेको थियो । त्यस्तै २०७६ असार ६ मा एक्कासि ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता सुनको मुल्य लगातार बढ्ने क्रम जारी रहेको छ ।
अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा त्यसको असर नेपालमा पर्ने गर्दछ ।