नेकपा सुदूरपश्चिम ईन्चार्ज भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्ट्रिले गलत भएको बताएका छन ।
आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले प्रधानमन्त्री आफैले उप प्रधानमन्त्री ईश्वर पोख्रेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गएपनि विदेशबाट आफै मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी पनि नभएको र यो काम आफैमा विवादास्पद भएको बताए ।
‘देशको सुरक्षा र गोपनीयताको कुरामा भिडियो कन्फ्रेन्स उपयुक्त होइन।’ रावलले भने – ‘आधुनिक युगमा गयौं भन्दैमा अरु कुनै चिजको ख्यान नगरिनु राम्रो होइन ।’ उनले भोलिका दिनमा प्रदेश र स्थानीय तहका सरकारले पनि यही सिको गर्न सक्ने बताए ।
सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिदै
पूर्व गृह मन्त्री समेत रहेका रावलले सुदूरपश्चिममा फेरि टीकापुर घटनाको पुनरावृत्ति गर्न खोजिएको बताए । जिम्मेवार नेता बाबुराम भट्टराईले टीकापुरमै आएर फेरि जातीय राज्य निर्माणका लागि आन्दोलन चर्काउन लगाउनु विखण्डनकारी काम भएको आरोप लगाए ।
नेता रावलले भट्टराईको अभिव्यक्ति देशमा फेरि विखण्डन निम्त्याउने खालको भएको बताए । ‘माक्सबादलाई पोलेर त्यसको खरानी घसेर जातीय राज्य बनाउन बाबुराम भट्टराई लागिरहनु भएको छ ।’ नेता रावलले भने – ‘तराई र पहाड मिल्न दिनुहुँदैन भन्ने कुरा बाबुरामको संविधान बनाउने बेलादेखिको निरन्तरता हो, देशको प्रधानमन्त्री समेत भइसकेको मान्छेले यस्तो कुरा गर्नु सुहाउँदैन ।’
नेता रावलले बाबुराम जस्ता नेताहरुकै कारण थारु समुदायका व्यक्तिहरुले जेल परेर दु ःख पाएको बताए । बाबुरामले भनेजस्तो देशमा जातीय राज्य बन्न सक्ने सम्भावना समेत नरहेको समेत रावलको भनाई छ ।
नेता रावलले भने – ‘जातीय राज्य चाहिने नै हो भने नेपालमा १ सय २४ राज्य बनाउनुपर्छ, राउटेले पनि राज्य खोज्छ ।’
संघीय समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केही दिन पहिले टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अधिकार प्राप्तीका लागि थप आन्दोलन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।
छिट्टै स्थानिय तहमा पार्टी एकिकरण हुन्छ
पत्रकार सम्मेलनमा नेता रावलले प्रदेशका सबै स्थानीय तहमा छिट्टै पार्टी विस्तार गरिने बताएका छन् । उनले अब गाउँ/नगर तथा जिल्लाका जनवर्गीय सङ्गठन एकीकरण कार्यलाई तीव्रता दिइने बताए ।
केन्द्र, जिल्ला र प्रदेशमा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको बताउँदै उनले अब प्रदेशका सबै स्थानीय तह र जनवर्गीय सङ्गठन एकीकरणको कामलाई छिट्टै अघि बढाइने बताए ।
गाउँ/नगर कमिटी एकीकरण पश्चात पार्टी सुदृढ हुने उनको भनाइ थियो । गाउँपालिका र नगरपालिकामा पार्टी एकीकरण गरी स्थानीय तहमा भइरहेका विकास निर्माणका काम प्रभावकारी हुने नेता रावलले बताए ।