अत्तरिया - गोदावरी होटल ब्यबसाय संघकी अध्यक्ष धना चोखालले राज्यले होटल तथा दोहरी साँझलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै दुखेसो पोखेकी छन् । अत्तरियामा रहेको न्यू सत्कार दोहरी साझँको दोस्रो बार्षिक उत्सब कार्यक्रममा बोल्दै अध्यक्ष चोखालले यस्तो दुखेसो पोखेकी हुन् ।
दोहरी साँझकी संचालिका समेत रहेकी उनले सुदूरपश्चिम प्रदेशमा पहिलो पटक आफूले फरक तबरवाट दोहरी साँझ संचालनमा ल्याएपनि कहिकतैवाट अपेक्षा गरे अनुसारको सहयोग पाउन नसकेको बताएकी छन् ।
उनले आफू लामो समय देखी होटल ब्यबसायमा आबद्ध रहेको र होटल ब्यबसायीहरुको नेतृत्व गरिरहेकाको भएपनि होटल र दोहरी साझँलाई यहाँ जनप्रतिनिधि , बुद्धिजिवी , प्रहरी प्रशासन कसैले पनि साथ सहयोग नगरेको बताइन् ।
गोदावरी नगरपालिका क्षेत्र भित्रै मात्रै करिब ७५ करोडको लगानीमा ४०० होटलहरु संचालनमा रहेको र त्यसमा १२ सय जनाले रोजगारी पाएको बताइन् । यति धेरै लगानी र रोजगारी सिर्जना गरिरहेको होटल ब्यबसायका समस्याहरुलाई बुझ्नका लागि राज्यपक्षको ध्यान जानुपर्ने उनको भनाई छ ।
सबै होटलहरु एक नाशको नहुने बताउदैँ उनले सबै भन्दा पहिला होटल , दोहरी साझँलाई राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन हुन जरुरी रहेको बताइन् ।
कुनै कमिकजोरीहरु भए त्यसका लागि सुझाव सल्लाह दिन त्यसै अनुसार आफूहरु अगाडी बढ्ने उनको भनाई छ ।
"कुनै होटलले अबैधानिक कामहरु गरिरहेको छ भने प्रहरी प्रशासनले कारबाहीको दायारामा ल्याउनुहोस न यसका लागि हामी पनि सहयोग गर्न तयार छौ उनले भनिन् - "तर साझँ नपर्दै सिटि बजाउने बन्द गराउन लगाउने कार्यले आफ्नो गाउँ ठाउँमा गरिरहेको ब्यबसायवाट पनि हात धोएर भाग्नुपर्ने अबस्था आउछ ।"
उनले राज्यलाई लाखौ कर तिरिरहेका होटल ब्यबसायका क्षेत्रमा सरकारले गहन रुपमा सोच्नुपर्ने बताइन् ।