अत्तरिया - सरकारले स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने सरकारले तयारी गरेको हो ।
सिँहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार स्मार्ट लकडाउन गर्ने बिषयमा छलफल भएको छ ।
अब एक साताको अवधिमा संक्रमितको संख्या बढ्दै गएमा आवश्यकता अनुसार केही क्षेत्र मात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनमा जाने बिषयमा छलफल भएको बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।
उनले पहिलेजस्तो सवै क्षेत्र बन्द गर्ने सोचमा सरकार नरहेको र अव केही स्थान वा केही क्षेत्रमात्र बन्द गर्नेगरी स्मार्ट लकडाउनको अवधारणालाई अघि बढाइने बताए ।
यसैगरि भारतबाट प्रवेश गर्ने नाकामा कोरोना परीक्षणलाई प्रभावकारी बनाउने, संक्रमितलाई राख्न आइशोलेशन वार्ड निर्माण गर्ने र त्यसको समन्वयनको कार्य प्रमुख जिल्ला अधिकारीले गर्ने मन्त्री खतिवडाले जानकारी दिए।
स्थानीय तहमा नै कोरोना संक्रमितको उपचार गर्ने गरी स्थानीय निकायले व्यस्था गर्ने र त्यसकोे खर्च केन्द्र सरकारले बेहोर्ने गरी तयारी गरिएको उनले बताए ।
यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढन नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका समेत स्वास्थ्यमन्त्री खतिवडाले बताए ।
देउवाले ओमिक्रोन भेरियन्टको संक्रमण बढन नदिन र संक्रमितहरुको परीक्षण तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएको उनले बताए ।