अत्तरिया - भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा दिनहुँ कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ।भारतको राजधानी दिल्लीमा कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रूपमा फैलिएसँगै त्यसको प्रभाव यो प्रदेशमा पनि देखिएको हो ।
हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना सङ्क्रमण देखिन थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका १२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका अनुसार १०८ जनामा एन्टिजेन र १२ जनामा पीसीआरमार्फत परीक्षण गर्दा कोरोना पुष्टि भएको हो। गड्डाचौकी नाका भएर स्वदेश फर्केका ५९, त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ४७ र बैतडीको नाका भएर स्वदेश फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो । बुधबार यो प्रदेशमा ५५ जनामा संक्रमण देखिएको छ ।
त्यसअघि आइतबार पाँच जनामा, सोमबार २८ र मंगलबार ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो । सुदूरपश्चिम प्रदेशमा बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, जौलजिवी, कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको हो ।
भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेकाले यहाँ पनि ओमिक्रोनको उच्च जोखिम रहेको जनाइएको छ । भारतमा सङ्क्रमण देखिएका सहरहरूसित दूरीका हिसाबले यो प्रदेश नजिक भएकाले उच्च जोखिम रहेको र सर्तकता अपनाउन आवश्यक रहेको छ।
भारतमा ओमिक्रोनको सङ्क्रमण तीव्र रूपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।
भारतका विभिन्न सहरमा मजदुरी गर्दै आएका नेपाली स्वदेश फर्किरहेकाले यहाँ उच्च जोखिम छ। उनले भने, ‘जोखिम रोक्न सीमामै परीक्षण गर्ने गरिएको र पोजेटिभ देखिएकालाई होम आइसोलेशनमा राख्ने गरिएको छ।’