अत्तरिया - आउँदो माघ १२ माघ हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । सो निर्वाचनका लागि सत्तारूढ दलहरूले पनि सिट बाँडफाँड गरिसकेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई ५\५ सिट, जनता समाजवादी पार्टी नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने निर्णय गरेको छ ।
यसै बिचमा नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
केन्द्रीय कार्यसमिति बैठक अघि पार्टी कार्यालयमा पदाधिकारीको बैठक बसेको थियो , जसअनुसार सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बन्ने भएका छन् ।
मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए । यस्तै नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरू टुंगो लगाएको छ । आइतबार साँझ बसेको सचिवालयको बैठकले चुनावका लागि १९ सिटका उम्मेदवारको टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
सूदूरपश्चिममा खुलातर्फ डिल्लीराज भट्ट , महिला तर्फ सन्तोष कुमारी शर्मा र दलित तर्फ नरेश बिक उम्मेदावर बनाइएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह गरिमालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । शाह महिला तर्फबाट उम्मेदवार भएकी हुन् ।
शाह यस अघि ०७० सालको संविधान सभा सदस्य पनि हुन् । पुस २० गते विहान १० देखि ३ वजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने र ४ वजे सूचि प्रकाशन गरिने छ।
सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीन जना राष्ट्रियसभा सदस्यको ४ वर्षे पदावधि फागुन २० गते सकिदै छ ।