सोनु सिनाल – प्रधानमन्त्रीज्यू,तपाईं मृगौलाको क्षमता बढाउने उपचारका लागि गतसाता सिंगापुर उड्दै गर्दा म पनि मृगौलाको डायलाइसिस गर्न विदेश नै जाँदै थिएँ । फरक यत्ति थियो— तपाईं सिंगापुर जान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट विमान चढ्दै हुनुहुन्थ्यो भने म कञ्चनपुरको सीमावर्ती उत्तर भारतको सानो सहर खटिमातर्फ टाँगामा सवार थिएँ ।
तपाईं केही दिन सिंगापुरमै बसेर मृगौलाको क्षमता बढाएर देश फर्किनुहुन्छ भन्ने मैले सोही साँझ घर फर्केपछि समाचारहरूबाट थाहा पाएँ । केही हप्ता अघिमात्रै तपाईं सबै ठिक भएको भनेर सिंगापुरबाट फर्किनुभएको रहेछ । मृगौला बिग्रेका हाम्रो स्वास्थ्य यस्तै त हो नि !
आज सञ्चो भोलि के बिसञ्चो हुन्छ, पत्तै नहुने । १२ वर्षअघि तपाईंले मृगौला प्रत्यारोपण गराउनुभएको कुरा तपाईं पहिलोपटक प्रधानमन्त्री निर्वा्चित भएको बेला थाहा पाएकी थिएँ मैले । तपाईं निर्वा्चित भएपछि मजस्तो मृगौला रोगीमा आशाको सञ्चार हुनु स्वाभाविकै थियो ।
तपाईं दोस्रोपटक अपार जनसमर्थनका साथ प्रधानमन्त्री निर्वा्चित हुँदा त झन् मेरो आशामात्र होइन, हौसला पनि अकासिएको थियो, ‘मृगौला बिग्रिँदैमा जीवन बर्बादै भयो’ भनेर निरुत्साहित हुँदै गएको समयमा । तर मेरो हौसला यति चाँडै खुम्चिन्छ भन्नेचाहिँ लागेको थिएन । देशको प्रधानमन्त्रीजस्तो मान्छे, व्यक्तिपिच्छेका यस्ता झिटिगुन्टा सुन्ने फुर्सद त नहोला, तर सिंगापुर अस्पतालमा तपाईं अलि लामो समय बस्ने भएकाले यो पटक पढ्ने फुर्सद मिल्ला भनेर आफ्नो समस्याको पोल्टो खुकुलो पार्ने विचार गरेँ ।
कुरा २०६९ सालको हो । म ३१ वर्षकी थिएँ, नेपालको सुदूर कुनामा । मेरो एउटा ज्यानमा पहिलोपटक अर्को सानो ज्यान पनि ६ महिनादेखि हुर्कंदै थियो । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर नै थिएनन् । अस्पतालमा नियमित जाँचका लागि भने गइरहन्थेंँ म । एक पटक एकाएक रक्तचाप बढ्यो । त्यहाँ उपलव्ध डाक्टरलाई देखाउन नर्सहरूले भने ।
डाक्टरले अल्ट्रासाउन्ड र सामान्य चेकजाँच गरेपछि भोलिपल्ट अस्पतालको साटो आफ्नो क्लिनिकमा बोलाए । मेरा श्रीमानलाई यो चित्त बुझेन । ती डाक्टरले सामान्य सोधपुछको लागि बोलाएका थिए वा पैसा कमाउन, बुझ्न सकिएन । तर क्लिनिकको सञ्चालकले पैसा उठाएरै छोड्यो । क्लिनिक सञ्चालकसँग हाम्रो बाझाबाझ पनि भयो ।
हामी स्त्रीरोग विशेषज्ञ डाक्टर भेट्न धनगढीतिर लाग्यौं । त्यहाँको सेती अञ्चल अस्पतालको हालत पनि उस्तै रहेछ । अस्पतालकै स्त्रीरोग विशेषज्ञको क्लिनिकमा मेरो जाँच भयो । उनले बच्चामा समस्या भएको त भने, तर प्रस्ट बुझाएनन् । नुन कम खानु र यो बच्चा झिक्नुपर्छ भने । किन झिक्ने ? के समस्या हो ? के, कहिलेसम्म गर्नुपर्छ ? उनले केही भनेन् । हामी अघिको बिरामीसँग उनको भनाभन परेपछि हामी यसै पनि घानमा परेका थियौं । विस्तारै ठिक होला भन्दै हामी निराश भई फर्कियौं ।
त्यसको एक हप्तापछि ममा खुट्टा सुन्निने लगायतका समस्या देखिन थाले । हामी नजिकै भारत सीमावर्ती सहर पुग्यौं । त्यहाँ पुगेपछि बल्ल थाहा भयो— गर्भावस्थामा मलाई प्रिइक्लाम्सिया भन्ने रोगले च्यापेको रहेछ । ढिलै भैसकेछ । रक्तचाप धेरै बढेर मेरो किडनी, आँखा र पेटको बच्चा तीनतिरै हानि गरिसकेछ । आँखाको दृष्टि त दुई दिनपछि फर्कियो, तर मृगौला र बच्चा नफर्किनेगरी सकिए !
बच्चाको आस मारिसकेका थियौं, मृगौलाको आस भने मरेको थिएन । नयाँदिल्लीका एम्स र सफदरजंग अस्पतालसम्म पुग्यौं । जीवनभर डायलाइसिस वा प्रत्यारोपण बाहेक विकल्प नबचेको परामर्शसहित हामी फर्कियौं । यद्यपि सफदरजंग अस्पतालका डाक्टरले तुरुन्तै डायलाइसिस गरिहाल्नु नपर्ने पनि भनेका थिए । उनको कुरा चार वर्षसम्म सत्य भयो ।
२०७३ सालमा मलाई केही गाह्रो भएपछि हामी फेरि नयाँदिल्ली गयौं । यो पटक भने डायलाइसिस सुरु गरिहाल्नुपर्ने डाक्टरले सुझाए । प्रत्यारोपणका लागि भने रगत मिल्ने अंगदाता भेटिएनन् । खर्च पनि आँटिनसक्नुको थियो । यो सब चल्दै गर्दा सेती अञ्चल अस्पतालमा पनि निःशुल्क डायलाइसिस सेवा सुरु भइसकेको थियो ।
कमजोर आर्थिक अवस्थाका हामीलाई यो खुसीको खबर त थियो, सेवा पाउन सहज भने थिएन । लामो पालो कुर्नुपर्ने । हामीले पनि नाम लेखायौं । यहीबीच डायबिटिजले पीडित ससुरा बाको पनि किडनी फेल भयो । हामी दुवै ससुरा–बुहारीले नयाँदिल्लीका विभिन्न सेन्टरमा डायलाइसिसका भरमा बाँच्न सुरु र्गयौं ।
एक दिन हैन, दुई दिन हैन, हप्तैपिच्छे घरका दुई–दुई जनाको डायलाइसिस ! स्थानीय रेडियोमा काम गर्ने श्रीमानको तलबले धान्ने कुरै भएन । नेपाल सरकार लगायत केही परोपकारी संस्थालाई सहयोगका लागि गुर्हायौं । सुशील कोइराला प्रधानमन्त्री भएका बेला हामीजस्ता बिरामीलाई १ लाख रुपियाँ उपचार खर्च दिने निर्णय भएको रहेछ । त्यो लिन दुईपटक काठमाडौं आउजाउ गर्दा ३० हजार खर्च भयो, तैपनि पैसा पाइएन । पछि तपाईं प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले त्यो निर्णय नै खारेज गराए भन्ने जानकारी विभागबाट पाएँ । सरकारी सहयोग नपाए पनि विदेशमा रहेका सुदूर पश्चिमेली समाजका दाजुभाइले भने केही आर्थिक सहयोग जुटाएर पठाए । केही दिनको खर्च र्टयो ।
६ महिनाको दिल्ली बसाइपछि धनगढीमा डायलाइसिसको पालो पाइने भनेर म फर्किएँ । तर सेती अञ्चल अस्पतालमा नियमित पालो नै पाइएन । अनि कोहलपुरको नेपालगन्ज मेडिकल कलेजमा पालो मिलाएँ । विडम्बना, यी अस्पतालमा मेरो फिस्टुला (डायलाइसिस गर्न हातमा धमनीहरूको शल्यक्रिया गरी बनाइने बाटो) बिग्रियो, हेपाटाइटिस सी पनि र्सयो । फिस्टुलामा समस्या आएपछि २०७४ भदौमा म फेरि काठमाडौं गएँ ।
सरकारीमा त यत्तिकै हन्डर थियो, ज्यानको कुरो भनेर काठमाडौंको सुमेरु अस्पताल पुग्यौं । त्यहाँ पनि उस्तै हन्डर खानुर्पयो । फिस्टुला सुन्निएर दुखाइ हरेक घन्टा बढिरहेको थियो । अलिकति पनि सञ्चो नभएकाले र चित्तबुझ्दो परामर्श नपाएकाले हामीले फेरि नयाँदिल्ली जाने निर्णय र्गयौं ।
नयाँदिल्लीमा देखाउँदा सुन्निएको भागबाट फिस्टुला फुट्ने अवस्थामा पुगेको थियो । फिस्टुला भएको बायाँ हात नै काट्नुपर्नेसम्मको जोखिमबाट एम्सका डाक्टरले मलाई बचाए । घाँटीमा अस्थायी पाइप राखेर डायलाइसिस सुरु भयो । एम्सले नै दायाँ हातमा शल्यक्रिया गरी नयाँ फिस्टुला बनाइदियो ।
एक महिनापछि घर फर्कियौं । डायलाइसिसका लागि हरेक हप्ता दुई दिन १ सय किलोमिटर टाढाको भारतकै बरेली धाउन थाल्यौं । किनभने सेती अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजले हेपाटाइटिस संक्रमण भएकै कारण मलाई सेवा दिन इन्कार गरेका थिए । यो बीचमा मैले हेपाटाइटिसको पनि उपचार गरेंँ । मासिक २५ हजारजति खर्च गरेर ६ महिना औषधि खाएर हेपाटाइटिस नेगेटिभ अवस्थामा र्पुयाएँ ।
अब मलाई सामान्य बिरामी सरह सेवा दिन मिल्थ्यो, तर सेती अञ्चल अस्पतालले मानेन । भक्तपुरको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका मृगौला विशेषज्ञ डा. सन्तोष गुरुङले सिफारिस लेखिदिँदा पनि सेती अञ्चल अस्पतालले टेरेन ।
बाध्य भएरै भारतमै आफ्नै खर्चमा डायलाइसिस गरिरहेंँ । ससुरा बाले भने यहीबीच ६ महिनाजति सेती अञ्चल अस्पतालमा डायलाइसिस गराउनुभयो । उहाँको पनि फिस्टुलामै समस्या आयो । अर्को बनाउन उमेर र गलेको शरीरले साथ दिएन । २०७५ असारमा उहाँले संसार छोड्नुभयो ।
भारत कति धाउनु ? २०७५ मंसिरमा काठमाडौंमै बसेर निःशुल्क डायलाइसिस सेवा लिने भनेर एकपटक फेरि काठमाडौं आयौं । श्रीमान यहीँ बसेर औषधि र घरखर्च जुटाउन विभिन्न संघ–संस्थामा काम गर्न थाल्नुभयो । तर म अगाडि असंख्यले नाम लेखाएका कारण मैले बेलैमा निःशुल्क डायलाइसिस गराउन पाइन ।
डायलाइसिस नगरी बाँच्न नसकिने भएकाले भक्तपुरको अंग प्रत्यारोपण केन्द्रमा पुरै पैसा तिरेर दुई घन्टाको (आधा) इमर्जेन्सी डायलाइसिस लिन सुरु गरेंँ । यही बीचमा अस्पतालले गर्ने रगतको भाइरल मार्क जाँचमा हेपाटाइटिस पोजिटिभ देखियो ।
अब मलाई डायलाइसिस नगर्ने भन्न थाले । मेरो उपचारको हिस्ट्री थाहा पाएका डा. गुरुङले सोही अस्पतालका कलेजो विशेषज्ञ डाक्टरलाई बोलाएर हेपाटाइटिसको उपचार भइसकेकाले सामान्य बिरामी सरह डायलाइसिस गर्न सकिने सुझाव दिए ।
डायलाइसिस युनिटका कर्मचारीहरूले छलफल गरे, तर नर्सहरूले मानेनन् । ६ महिने उपचार गरी नेगेटिभ अवस्थामा पुगिसकेको र भारतमा सामान्य मसिनमै डायलाइसिस गराइरहेकी मलाई हेपाटाइटिस पोजिटिभलाई डायलाइसिस गर्ने मेसिनमै सेवा लिन बाध्य पारियो ।
तर विडम्बना, यो सेवा दुई हप्ता पनि चलेन । कहिले मेसिन बिग्रेर डायलाइसिस पूरा नहुने त कहिले मेसिनमा रगत जम्मा भएर चार घन्टाको डायलाइसिस पनि पूरा नहुने । यही क्रममा मेरो फिस्टुलामा पुनः संक्रमण भयो ।
फिस्टुला चलाउन नमिल्ने भनेर दुई हप्तामा चारपटक फेमोरल क्याथेटर (डायलाइसिस गर्न खुट्टामा हालिने अस्थायी पाइप) राखियो । त्यो पाइप राख्न प्रत्येकपटक ८–९ हजार जतिको खर्च आउँथ्यो, तर पनि चार घन्टाको डायलाइसिसको चक्र पूरा हुँदैनथ्यो । सरकारी निःशुल्क डायलाइसिस सुविधा लिँदा मलाई ‘भुइँको टिप्दा गोजीको पोखिए’ जस्तै भयो ।
फिस्टुला सुन्निने क्रम बढ्दै गएर सास फेर्न पनि गाह्रो हुनथालेको थियो । खुट्टाको लाइनबाट पनि डायलाइसिस नभएपछि डाक्टरहरूले छातीमा पाइप राख्ने शल्यक्रियाको सुझाव दिए । ५०–६० हजारजति लाग्ने उक्त शल्यक्रियाका लागि निजी अस्पतालमा जान सुझाव दिएपछि हामीले पुनः एकपटक नयाँदिल्ली जाने निर्णय र्गयौं ।
हामी यस अघिको सेवाबाट आजित भइसकेका थियौं । नयाँदिल्ली पुगेपछि सबैभन्दा पहिले डायलाइसिस गरी शरीरमा जम्मा भएको विकार र पानी निकाल्नु थियो । अचम्मको कुरा, भक्तपुरको अंग प्रत्यारोपणका विज्ञहरूले फिस्टुला चलाउन नमिल्ने भनेर चारपटक अस्थायी लाइन राखेकामा दिल्लीमा भने त्यही फिस्टुलाबाट डायलाइसिस भयो ! चार घन्टा मेसिनमा बिताएपछि म तंग्रिएँ । एक हप्तामा तीनपटक डायलाइसिस गरेपछि म आफै हिँड्न सक्ने भएँ । अनि नेपाल फर्कियौं ।
प्रधानमन्त्रीज्यू, मैले भारतकै उपचारमात्र राम्रो भन्न खोजेकी त होइन, तर मेरो अनुभव यस्तै रह्यो । विडम्बना, मेरो देश मेडिकल माफियाको चंगुलमा फँसिसकेको रहेछ ।
प्रधानमन्त्रीज्यू, तपाईं पनि यहाँको सेवामा विश्वास नभएरै सिंगापुर जानुभएको त होइन ? जे हिसाबले जानुभएको भए पनि ठिकै गर्नुभयो । म पनि धनगढी, नेपालगन्ज, काठमाडौं हुँदै कञ्चनपुरको सिमानामा पर्ने भारतको सानो सहर खटिमामा अहिले डायलाइसिस गरिरहेकी छु ।
यो सानो अस्पतालको प्राविधिकले पनि फिस्टुला राम्रैसँग चलाएर सेवा दिएको छ । मेरो सास त चलिरहेको छ, तर परिवार र श्रीमानमा झन्–झन् जिम्मेवारी थपिएको छ । श्रीमानको जागिरजस्तै मेरो सास पनि अस्थायी नै लाग्छ ।
प्रधानमन्त्रीज्यू, तपाईंको जस्तै हाम्रो पनि बच्चा छैन । बुढेसकालमा कतै उनी बिरामी परे भने के गर्लान् ? सरकारले त पक्कै हेर्दैन, देखिहालियो । कसले हेर्ला ? म यस्तै कुरा मनमा खेलाउँछु र झस्किन्छु ।
प्रधानमन्त्रीज्यू, हजुर त सक्नुहुन्छ र उच्चस्तरको स्वास्थ्यसेवा लिनुहुन्छ । म र मभन्दा नसक्ने हजारौं पीडित छन्, देशमा । लाऊँ–लाऊँ खाऊँ–खाऊँ भन्ने उमेर मैले अस्पतालको चक्करमा काटेँ र अझै कतिसम्म काट्न सक्छु, थाहा छैन । हरेक हप्ता दुईदेखि तीनपटक डायलाइसिसमा धाउनुको धपेडीको हिसाब के गर्नु ! उपचारकै सिलसिलामा अहिलेसम्म चालीस लाखभन्दा बढी खर्च भैसकेको छ ।
आफूसँग भएको आर्थिक स्रोत सकिँदै गएपछि अनि देशको अवस्था बिग्रिँदो भएपछि विस्तारै आस पनि कम हुँदो रहेछ । तपाईं त कार्यकारी ठाउँमा हुनुहुन्छ, चाहँदा त हामी जस्ताका लागि धेरै काम गर्न सक्नुहोला । तपाईं सञ्चो भएर आउनुहोस्, अनि देशमै सस्तो र सहज उपचार हुने वातावरण बनाउनुहोस् । मेरो बाँकी उमेर हजुरलाई लागोस् !
साभार –कान्तिपुरबाट