अत्तरिया – अत्तरियामा रहेको बसपार्क क्षेत्रभन्दा बाहिर यात्रु ओराल्ने र चढाउने गर्दा दुर्घटनाको जोखिम बढेको छ । सवारी साधनहरुले बसपार्क बाहिर नो पार्किङ क्षेत्रमा यात्रु ओराल्ने र चढाउने गर्दा दुर्घटनाको जोखिम बढेको हो ।
अत्तरिया क्षेत्रमा यात्रु चढाउन र ओराल्न बसपार्क निर्माण गरिएको भएपनि बसपार्क बाहिर यात्रु ओराल्ने चढाउने प्रवृती रोकिन सकेको छैन । सवारी साधनहरुले बसपार्क बाहिरबाटै यात्रु चढाउने र ओराल्ने गरेका भएपनि नजिकै रहेको ट्राफिक प्रहरी कार्यालयले सक्रियता नदेखाउँदा सडकमा सवारी साधन ओहोरदोहोरमा समस्या हुने गरेको छ ।
ट्राफिक चेक पोईन्टबाट बसपार्क अगाडी नो पार्किङमा पार्किङ गरेका सवारी साधन देख्न सकिने भएपनि ट्राफिक प्रहरीलेनै बेवस्ता गर्ने गरेको छ । बसपार्क भित्र प्रवेश गर्ने र बाहिरीने प्रवेशद्धारमै यात्रुवाहक सावारी साधनहरुले यात्रु ओराल्ने र चढाउने गरेका छन । जसले गर्दा बसपार्कको सवारी पार्किङ अस्तब्यस्त बन्ने गरेको छ । बसपार्क बाहिर नो पार्किङ बोर्ड लागाईएको भएपनि यात्रुबाहक सवारी साधनले त्यसको बेवस्ता गर्दै आएका छन ।
बसपार्कको पार्किङ शुल्क तिरेर पनि बसपार्क बाहिर पार्किङ गरिदै
.jpg)
गोदावरी नगरपालिकाको मातहातमा रहेको बसपार्कमा पार्किङ गर्न भनेर सवारी साधनहरुले शुल्क तिरेर पनि बसपार्क बाहिर सवारी साधन रोक्ने गरिएको छ । बसपार्कमा नगरपालिका मार्फत शुल्क उठाउने ठेक्का पाएको रेखा निर्माण समितिले बसपार्कमा पार्किङ गरेबाफत शुल्क लिने गरेको छ ।
समितिले बसपार्कमा सवारी साधन पार्किङ गरेबाफत १०० किलोमिटर सम्मको दुरीमा चल्ने सवारी साधनबाट ५६ रुपैयाँ पचास पैसा र १०० किलोमिटर भन्दा बढीको दुरीमा चल्ने सवारी साधनबाट १ सय १३ रुपैयाँ शुल्क उठाउँदै आएको छ ।
पार्किङ शुल्क उठाउदै आएको रेखा निर्माण समितिका संचालकले भने आफुहरुले सवारी साधन बसपार्क भित्र रोक्न पटक पटक आग्रह गर्ने गरेको भएपनि सवारी चालकहरुले अटेरी गर्ने गरेको बताउने गरेका छन ।
ट्राफिक प्रहरीको जनशक्ती अभाव
बसपार्ककै छेउमै ट्राफिक चेक पोईन्ट भएपनि प्रहरीको सक्रियता भने न्युन रहेको छ । चेक पोस्टमा बसपार्कबाट पहाडका लागि छुटेका सवारी साधन चेकजाच गर्ने गरिएको भएपनि बसपार्क बाहिर नो पार्किङमा पार्किङ गरेका सवारी भने हटाउने गरिएको छैन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता टेक बहादुर जोराले कार्यालयबाट नियमित गस्ति गरीरहेको बताए ।
उनले बसपार्क बाहिर सवारी साधन पार्किङ गर्नेलाई नियमित कारवाहि गरिरहेको बताए । ‘जनशक्ती अभाव रहेकाले नियमित प्रहरी परिचालन गर्नमा समस्या भएको छ ।’ प्रवक्ता जोराले भने –‘हामीले नियमित गस्ती गरीरहेका छौ तर बसपार्कमै नियमित प्रहरी परिचालन गर्नका लागि अहिलेको जनशक्तिले सम्भव छैन ।’
उनले अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा ४० जना जनशक्तीको आवश्यकता भएपनि २० जना मात्रै रहेको बताए । अहिले सुदूरपश्चिम प्रदेश भरिमा १ सय ३३ जनाको दरबन्दि रहेको भएपनि १ सय ९० जना कार्यरत रहेका छन । प्रवक्ता जोराले पहाडी क्षेत्रमा दुर्घटनाको जोखिम बढी भएकाले पहाडी क्षेत्रमा बढी प्रहरी परिचालन गर्नु परेको बताए ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस् :अत्तरिया बसपार्कको दुर्गति , जताततै फोहोरै फोहोर , खाल्डैखाल्डा